काठमाडौं। बलिउड सुपरस्टार साहरुख खानका छोरा आर्यन खानमाथी ड्रगसम्वन्धि मुद्धामा छानविन भैरहेको छ। सुपरस्टारका छोरा ड्रग केसमा पक्राउ परेपछि यो विषयले मिडियामा निकै चर्चा पाइरहेको छ।
यसैपनि उनिहरुको क्रियाकलापले मिडियामा स्पेस पाइरहेकै हुन्छ। झनै ड्रग सम्वन्धि मुद्धामा मुछिएपछि बलिवुड मिडियामा उनका हरेक कुरा महत्वका साथ छापिएका छन्। यो घटनालाई राजनिति र भ्रष्टाचारसंग पनि जोडिएको केही ब्यक्तिहरुले बताइरहेका छन्।
यहि बीचमा यो घटनाले नयाँ मोड लिएको छ। आर्यन खानलाई पक्राउ गरेर अनुसन्धान गरिरहेका नारकोटिक्स कन्ट्रोल ब्युरोका अधिकारीमाथि नै भ्रष्टाचार आरोपमा अनुसन्धान सुरु भएको छ। एनसीबीका क्षेत्रीय निर्देशक समीर वानखेडेविरुद्ध भिजिलेन्स विभागले भ्रष्टाचार आरोपमा अनुसन्धान सुरु गरेको समाचारमा जनाइएको छ।
यससँगै अब समीर वानखेडे पदबाटै बर्खास्त हुन सक्ने सम्भावना बढेको छ। एनसीबीका डेप्युटी निर्देशक जनरल ज्ञानेश्वर सिंहका अनुसार समीर वानखेडेमाथि लागेको भ्रष्टाचारको आरोपको भिजिलेन्स जाँच भइरहेको छ। उनी आफ्नो पदमा कायम रहन्छन् वा रहँदैनन् भन्ने विषयमा अहिले केही भन्न नसकिने सिंहले बताए।
एनसीबी मुम्बइका निर्देशक वानखेडे भोलि मंगलबार दिल्ली जाँदैछन्। दिल्लीको एनसीबी मुख्यालयमा उनको विषयमा छलफल समेत भएको छ। ज्ञानेश्वर सिंहका अनुसार जारी जाँचको उनी स्वयंले निरीक्षण गरिरहेका छन्। एनसीबीको मुम्बइ कार्यालय र त्यहाँका प्रमुख वानखेडेविरुद्ध लागेको आरोपबारे मुम्बइ एनसीबीले एनसीबीका महानिर्देशकलाई इमेलमार्फत रिपोर्ट बुझाएका छन्।
जानकारीअनुसार दिल्लीमा समीर वानखेडेले कुनै रिभ्यु बैठकका लागि जाँदैछन्। यस क्रममा महानिर्देशक सत्य नारायण प्रधानले समीरसँग एनसीबीमाथि लागेका आरोपबारे कुरा गर्नेछन्। आइतबार समीर वानखेडेमाथि आरोप लागेपछि एनसीबीले सेसन अदालतमा नयाँ एफिडेविट दायर गरेको छ।
यसमा समीरले आफूलाई केसको सुरुदेखि निशाना बनाइएको दावी गरेका छन्। उनले जाँचलाई प्रभावित पार्ने कोसिस भइरहेको र आफ्नो छवि समेत खराब गर्ने कोसिस भइरहेको दावी गरेका छन्।
क्रुज पार्टीसँग सम्बन्धित ड्रग्स केसको क्रममा जुन छापा मारिएको थियो र शाहरुख खानका छोरा आर्यन खानलाई एनसीबीले पक्राउ गरेको थियो त्यो छापालाई महाराष्ट्रका मन्त्री नवाब मलिकले फर्जी भनेका थिए। त्यसपछि यो केसका स्वतन्त्र गवाह प्रभाकरले यो भ्रष्टाचारको मामिला भएको बताएका थिए। यसमा उनले २५ करोड रुपैयाँ मागिएको आरोप लगाएका थिए।
तर उनका समर्थक तथा केही संचारमाध्ययमले समिरविरुद्ध षड्यन्त्र भैरहेको बताएका छन्। र उनले यी सबै आरोपहरुको सही समयमा जवाफ दिने बताएको भारतिय संचारमाध्ययमले जनाएका छन्।