काठमाडौं। केही समय निरन्तर ओरालो लागेको शेयर बजार पुरानै लयमा फर्कदै छ। मंगलबार सेयर बजार परिसूचक नेप्सेमा वृद्धि भएको हो।
सोमबार ८७.६३ अंकले बढेर २६७२.२५ बिन्दुमा पुगेको नेप्सेमा मंगलबार थप ७८.८२ अंकले बढेर २७५१.०७ विन्दुमा पुगेको छ।
आज सबैजसो उप-सूचकहरु बढेर बजार नै हरियाली बनेको छ भने, यस दिन सबैभन्दा बढी होटल तथा पर्यटन समूहका लगानीकर्ताहरूले कमाएका छन्।
आज यस समूहको सूचक अधिकतम ७.५१ प्रतिशतले वृद्धि भएको छ । यस्तै, फाइनान्स समूहको ५.६१, लगानी समूहको ४.५, हाइड्रोपावर समूहको ४.३३ प्रतिशतले बढेको छ भने विकास बैंक र जीवन बीमा समूहको क्रमश: ३.७७ र ३.३४ प्रतिशतले वृद्धि भएको छ।
मंगलबार ७ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ भने १७ कम्पनीको सेयर मूल्य ८ प्रतिशत माथिले बढेको छ। अधिकतम ७८.८२ अंकले बढेको बजारमा आज कुल ६ अर्ब ३१ करोड ८३ लाखको कारोबार भएको छ।