काठमाडौं। इथियोपियाको टिगरे क्षेत्रमा सक्रिय विद्रोही समूहले रणनीतिक महत्व बोकेको एक शहर कब्जा गरेका छन्। टिगरे विद्रोहीका एक प्रवक्ता र स्थानीयका अनुसार विद्रोही लडाकुले अमहारा क्षेत्रस्थित डेस्सी शहर कब्जा गरेका हुन्।
राजधानी अदिस अबाबाबाट ३८५ किलोमिटर टाढा रहेको ठूलो शहर कब्जामा लिनु विद्रोहीको महत्वपूर्ण उपलब्धि मानिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन्।
तर सरकारी प्रवक्ताले डेस्सी शहर अझै पनि सेनाको नियन्त्रणमा रहेको भन्दै विद्रोहीको दाबी खण्डन गरेका छन्। शनिबार डेस्सीका बासिन्दाले भिषड लडाइँ र बिजुली आपूर्ति बन्द भएपछि सरकारी सेना पछि हटेको एएफपीलाई जनाएका थिए।
‘शुक्रबार दुई बजेतिर सरकारी सेना उक्त क्षेत्रबाट पछि हट्न सुरु गरेको थियो’, डेस्सीका अमिर भन्ने एक स्थानीयले भने। त्यस्तै अर्का एक स्थानीयका अनुसार विद्रोहीहरू प्रवेश गर्न थालेपछि इथियोपियाको राष्ट्रिय सेना शहर छोडेको छ र सरकारी सेनाको उपस्थिति कतै पनि देखिँदैन।
विद्रोही समूह टिगेर पिपुल्स लिबरेशन फ्रन्टले सेटसाइट फोनमार्फत् रोइटर्ससँग कुरा गर्दै सरकारी फौजलाई आफूहरुले धपाएको र विद्रोहीहरु कोम्बोल्चा शहरतर्फ अघि बढिरहेको बताएका छन्।
केही सरकारी सेना विद्रोहीको कब्जामा रहेको पनि उनको भनाइ छ। तर सरकारका प्रवक्ता लेगेस्से टुलुले विद्रोहीको दाबीलाई ‘सुनियोजित प्रचारबाजी’ भन्दै अस्वीकार गरेका छन्। डेस्सी शहर अझै पनि सरकारी सेनाको नियन्त्रणमा रहेको उनको भनाइ छ।