काठमाडौं। कोभिड-१९ बाट प्रभावित अतिविपन्न परिवारलाई राहत बाँड्न सरकारले कार्यविधि तयार पारेको छ। सरकारले कोरोना प्रभावित ५ लाख परिवारलाई १० हजारका दरले नगद बाँँड्ने निर्णय गरेको छ । सोही राहत रकम दिने सरकारी निर्णयको कार्यविधि तयार पारिएको हो।
अर्थमन्त्रालयले तयार पारेको कार्यविधि मन्त्रिपरिषद्बाट स्वीकृत गराइ मंगलबार राजपत्रमा प्रकाशन गरिएको हो। दसैँअघि नै ५ लाख परिवारलाई १० हजारका दरले प्रत्यक्ष नगद वितरण गर्ने योजना बनाइएको भए पनि कार्यविधि नबन्दा वितरण हुन सकेको थिएन।
विधेयकको नाम ‘कोभिड १९ को महामारीबाट प्रभावित अतिविपन्न परिवार नगद हस्तान्तर कार्यविधि, २०७८’ छ। उक्त कार्यविधिमा कोभिड १९ महामारी नियन्त्रणका लागि गरिएको बन्दबन्दीको कारण भइरहेको पेसा, व्यवसाय वा श्रम गर्ने अवसर गुमाइ आर्थिकरूपमा अतिविपन्न नेपाली नागरिकको परिवारलाई राहत स्वरूप प्रतिपरिवार १० हजार रूपैयाँका दरले नगद हस्तारण गर्ने उल्लेख छ।
यस योजनामा सहभागिता हुनका लागि रोजगारी पूर्णरूपमा गुमाएको र अर्को रोजगारी प्राप्त गर्न नसकी बेरोजगार भएको असंगठित मजदुर वा कामदार हुनुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ। यसैगरी खुला सडक, फुटपाथमा वा चौरमा खर्पन, नाङ्गलो, डोको आदिमा समान बेच्ने अतिविपन्न व्यवसायी, दैनिक ज्याला–मजदुरी गर्ने भरिया, कृषि मजदुर, गोठाला, खेतला, ज्यालदारी श्रमिक, रिक्सा चालक, ठेलागाडा मजदुर, सार्वजनिक यातायात मजदुर, पर्यटन, भरियाले सो रकम प्राप्त गर्न सक्ने कार्विधिमा उल्लेख छ।
यसैगरी कोरोना संक्रमणका कारण एकाघरपरिवारको आयआर्जन गर्ने मुख्य सदस्यको मृत्यु भइ आर्थिक संकट झेल्नुपरेका परिवार तथा अभिभाव गुमाएका असाहय नाबालकलाई स्याहार गर्ने परिवारलाई नगद प्राप्त गर्ने आधार तोकिएको छ।
अर्थमन्त्री जनार्दन शर्माले राजपत्रमा प्रकाशित भएसँगै अब देशभरका अति विपन्न ५ लाख परिवारले १० हजारका दरले नगद राहत प्राप्त गर्ने बताए।