काठमाडौं। छठ पर्वको आज मुख्य दिन। कार्तिक शुक्ल चतुदर्शीदेखि सुरु भएको यो पर्व कार्तिक शुक्ल सप्तमीसम्म मनाइन्छ। आज व्रतालुहरू पानी पनि नपिइ निर्जला व्रत बसी साँझ अस्ताउँदो सुर्यलाई अघ्य दिई मनाईँदै छ।
आज बिहानदेखि पानीसमेत नपिएका व्रतालुहरू साँझपख जलाशयमा पानीमा डुबेर अस्ताउँदो सूर्यलाई अर्घ्यसहित पूजा गर्छन्। अस्ताउँदो सूर्यलाई पूजा गरिसकेपछि भोलिपल्टको उदाउँदो सूर्यलाई अर्घ्य चढाउनुअघि रातभर त्यही जलाशय किनारमा जाग्राम बस्ने परम्परा छ।
आजको रात भजन कीर्तन र नाचगान गरेर जाग्राम बस्ने गरिन्छ। भोलिपल्ट बिहानै ब्रह्ममुहूर्तमा जलाशयमा गएर पूजा सामग्री तयार पारी सूर्योदय भएसँगै अञ्जुलीमा पानी लिएर चढाइन्छ। साथै चढाउनको लागि तयार पारिएको ठकुवा, भुसुवा, फलफूल तथा मिठाइहरू अर्पण गरिन्छ। त्यसपछि सबै व्रतालुहरू आआफ्नो घर गएर चढाएका ठकुवा, भुसुवा, फलफुल तथा मिठाइहरू प्रसादको रुपमा ग्रहण गरी व्रत समापन गर्दछन्।
छठमा विशेष गरी प्रकृतिको छैटौं अंशबाट उत्पन्न भएकी भगवती देवी (छठी माई)को पूजा गरिन्छ। देवी भागवत्मा छठी देवीले पुत्र नभएकालाई पुत्र, पत्नी नभएकालाई पत्नी, धन नभएकालाई धन प्रदान गरेको कथाहरू उल्लेख गरिएको छ।
छठलाई एउटा कठिन व्रत र उपवासको रुपमा हेरिन्छ। छठको व्रत बस्दा चोखोनिधो, संयम र ब्रह्मचर्य धर्मको पालना गरिएन भने छठ पूजाको फल नपाइने जनविश्वास रही आएको छ।
परापूर्वकालदेखि नै छठ पर्व मनाउने गरेको इतिहास छ।
त्रेतायुगमा राजा दशरथकी रानी कौशल्याले छठको व्रत लिएको कुरा रामायणमा उल्लेख गरिएको छ । त्यस्तै, द्वापर युगमा चौध वर्षको वनवास बसेको समयमा कुन्ती, द्रौपदीसहित पाण्डवले यो व्रत गरेको प्रसंग महाभारतमा उल्लेख छ।