काठमाडौं। बंगलादेशका पूर्वप्रधानन्यायाधीश सुरेन्द्र कुमार सिन्हालाई ११ वर्ष जेल सजायँ सुनाइएको छ। ७० वर्षीय पूर्वप्रधानन्यायाधीश सिन्हालाई सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा सात वर्ष र विश्वासघातसम्बन्धी मुद्दामा चार वर्ष गरी जम्मा ११ वर्षको जेल सजायँ सुनाइएको हो।
सिन्हाले तत्कालीन फार्मर्स बैंक (हाल पद्म बैंक)बाट ४ लाख ७० हजार अमेरिकी डलर ऋण लिएका थिए। त्यसपछि उनले त्यो रकम नगद, चेक र पे-अर्डरमार्फत् दोस्रो खातामा सारेको आरोप छ। यसो गर्नु बंगलादेशको भ्रष्टाचार रोकथामसम्बन्धी कानुन अनुसार दण्डनीय मानिन्छ।
भ्रष्टाचारसम्बन्धी यही प्रकरणमा मुछिएका १० जनामध्ये मोहम्मद शाहजाँ र निरन्जन चन्द्र साहालाई भने अदालतले सफाइ दिएको छ। पूर्वप्रधानन्यायाधीश सिन्हासहित अन्यलाई भने अलग–अलग जरिवाना र जेल सजायँको फैसला अदालतले गरेको छ। भ्रष्टाचारको आरोप लागेपछि सिन्हाले चार वर्ष अघि विदेश भ्रमणको क्रममा प्रधानन्यायाधीश पदबाट राजीनामा दिएका थिए।