आइतवार, श्रावण २४ गते २०८३

आज हरिबोधनी एकादशी, यी स्थानीय तहमा सार्वजनिक बिदा

सोमवार , कार्तिक २९, २०७८

काठमाडौं । कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ ।

आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ ।

हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दछन् । विष्णु क्षीर सागरमा सुतेकाले यी चार महिना विवाह व्रतबन्धजस्ता माङ्गलिक कार्य नगरिने परम्परा छ । यस समयमा खोला, नदीनालामा बाढीपहिरो आउने र सर्पजस्ता जीवको भयका कारण यात्रा नगर्नु शुभ मानिन्छ । 

हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर आज विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रुपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ । कार्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ ।

हरिबोधनी एकादशीको दिनमा नेपालका विभिन्न धार्मिक स्थलहरुमा मेला लाग्ने गर्छ । यस दिन सुनसरीको बराह क्षेत्र र काठमाडौंको बूढानीलकण्ठ लगायत उपत्यकाका चार दिशामा रहेका चार नारायण मन्दिर चाँगुनारायण, विशंखुनारायण, इचंगुनारायण र शेष नारायणमा विशेष मेला लाग्छ । हरिबोधनी एकादशीको दिन आज काठमाडौंका बुढानीलकण्ठ र नागार्जुन नगरपालिकाले आज सार्वजनिक विदा दिएका छन् ।

यसैगरी हरिबोधनी एकादशीको अवसरमा संखुवासभाको खाँदबारी नगरपालिका, खोटाङको बराहपोखरी गाउँपालिका र जन्तेढुंगा गाउँपालिकाले पनि कात्तिक २८ र २९ गते दुई दिन सार्वजनिक विदा दिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार