काठमाडौं। चीनले अमेरिकालाई पछि पार्दै विश्वकै सबै भन्दा धनी देश बनेको छ। कन्सल्टेन्सी फर्म म्याकिन्से एण्ड कम्पनीको रिपोर्टअनुसार पछिल्लो दुई दशकमा विश्वभरको कुल सम्पत्ति तीन गुणाले वृद्धि भएको छ।
२० वर्षको अवधिमा वृद्धि भएको विश्वको कुल सम्पत्तिमध्ये चीनले एक–तिहाई अर्थात् ३३ प्रतिशत हिस्सा ओगटेको छ। रिपोर्टअनुसार सन् २००० मा विश्वको कुल सम्पत्ति करिब १ सय ५६ ट्रिलियन डलर थियो। २०२० मा आइपुग्दा विश्वको कुल सम्पत्ति बढेर ५ सय १४ ट्रिलियन डलर पुगेको छ।
उक्त अवधिमा वृद्धि भएको कूल सम्पत्तिमध्ये एक-तिहाई हिस्सा चीनको रहेको छ। सन् २००० मा विश्व व्यापार संगठनको सदस्य बन्दा चीनको कुल सम्पत्ति ७ ट्रिलियन अर्थात् ७० खर्ब डलर थियो। सन् २०२० मा त्यहाँको कुल सम्पत्ति बढेर १२० ट्रिलियन डलर पुगेको छ। यसको अर्थ २० वर्षमा चीनको कुल सम्पत्तिमा ११३ ट्रिलियन थपिएको छ।
पछिल्लो २० वर्षमा चीनको तुलनामा अमेरिकाको सम्पत्तिमा कमी आएको रिपोर्टमा उल्लेख छ। सम्पत्तिको मूल्यमा वृद्धि नहुँदा अमेरिकाले पहिलो स्थान गुमाएको र चीनले उछिनेर विश्वकै धनी मुलुक बनेको रिपोर्टमा उल्लेख छ। विश्वको ६० प्रतिशत आय रहेका १० मुलुकको वासलात (ब्यालेन्स सिट) को जाँचपछि उक्त रिपोर्ट तयार पारिएको हो।