शुक्रवार, कार्तिक ७ गते २०८३

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक : राष्ट्रियसभा निर्वाचन माघ १२ गते गर्ने निर्णय

शुक्रवार , मंसिर ३, २०७८

काठमाडौं। सरकारले राष्ट्रियसभा निर्वाचन आगामी माघ १२ गते गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै राष्ट्रियसभा निर्वाचन माघ १२ मा गर्ने निर्णय गरेको जानकारी दिएका हुन्।

त्यसै मन्त्रीपरिषद निर्णय अनुसार भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्र संघीय महासन्धिको पक्ष राष्ट्रहरुको इजिप्टमा हुने नवौं सम्मेलनमा भाग लिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई नेतृत्वको प्रतिनिधिमण्डल पठाउने प्रस्ताव पनि स्वीकृत भएको छ।

त्यसैगरी, नायव महालेखा परीक्षकमा बाबुराम सुवेदी, सहमहालेखा नियन्त्रकमा उमाकान्त आचार्य र नेपाल चार्टर एकाउन्टेन्टस् संस्थाको पार्षदमा बैकुण्ठबहादुर अधिकारीलाई मनोनयन गर्ने निर्णय पनि गरिएको प्रवक्ता कार्कीले बताए।

मन्त्रिपरिषद् बैठकले एशियन–अफ्रिकन लिगल कन्सलटेटिभ अर्गानाईजेशनको ५९औं वार्षिकसभामा भाग लिन कानुन, न्याय तथा संघीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू नेतृत्वको प्रतिनिधिमण्डललाई पठाउने प्रस्ताव पनि स्वीकृत गरेको छ। रक्षामन्त्री डा. मीनेन्द्रप्रसाद रिजाल नेतृत्वको प्रतिनिधिमण्डललाई दक्षिण कोरियामा हुने युएन पिस किपिङ मिनिष्ट्रियल मिटिङमा भाग लिन पठाउने प्रस्ताव पनि स्वीकृत गरिएको छ।

मन्त्रिपरिषद् बैठकले मोरक्कोमा हुने इन्टरनेसनल एक्जुक्युटिभ काउन्सिल अफ आइइसी सम्मेलनमा सिञ्चाई सचिव सागरकुमार राईलाई सहभागी हुन स्वीकृति दिएको छ। एशियाली विकास बैंकबाट प्राप्त हुने थप सहुलियतपूर्ण ऋण सहायता अमेरिकी डलर ६० मिलियन स्वीकार गर्ने पनि मन्त्रिपरिषदले निर्णय गरेको छ।  

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार