काठमाडौं। नेपाल पत्रकार महासंघका विभिन्न तहका पदाधिकारी, सदस्य तथा साधारण सदस्यहरू विभिन्न राजनीतिक दलका विभिन्न तहमा उम्मेदवार र प्रतिनिधि आवद्ध बनेका छन्। तर महासंघले सो कार्यप्रति ध्यानाकर्षण भएको जनाउँदै चेतावनी दिएको छ।
महासंघका महासचिव रोशन पुरीले आइतबार एक विज्ञप्ति जारी गरी महासंघको विधान विपरीत राजनीतिक दल वा उसका भातृ संगठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गरिरहेकाहरूको सदस्यता खारेज गरिने चेतावनी दिएका छन्।
यस्तै‚ महासंघको विधान २०६० (पाँचौँ संशोधन२०७६)ले ‘महासंघका केन्द्रीय समिति, प्रदेश समिति वा शाखा समितिका पदाधिकारी तथा सदस्यले सो पदमा बहाल रहेसम्म कुनै राजनीतिक दल वा भातृ संगठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गर्न पाउने छैन’ भन्ने कुरा व्यवस्था गरेको विज्ञप्तिमा जनाइएको छ।
राजनीतिक दल वा भ्रातृ संगठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गरेमा संगठन समितिको सिफारिसमा केन्द्रीय समितिले स्पष्टीकरण सोध्ने, निलम्बन गर्ने र सदस्यता खारेज गर्ने निर्णयसमेत गर्न सक्नेतर्फ ध्यान दिन महासंघ आग्रह गरेको छ।