काठमाडौं। योग गुरुको परिचय बनाएका बाबा रामदेवको नेपालमा भर्खरै उद्घाटन गरिएका टेलिभिजन च्यानलबारे सुचना विभागले छानविन थालेको छ। प्रधानमन्त्रीले उद्घाटन गरेको टेलिभिजन च्यानल सूचना तथा प्रसारण विभागमा दर्ता नभएको र प्रसारण अनुमतिसमेत नलिएको खुलेको छ।
प्रसारण इजाजत नै नलिएका पतञ्जली योगपीठका दुई टेलिभिजन च्यानल प्रधानमन्त्रीसहित सत्ता गठबन्धनका शीर्ष नेताले उद्घाटन गरेपछि सूचना विभागले छानबिन थालेको हो। मिडियामा विदेशी लगानी ऐनबाटै प्रतिबन्धित भएकोमा योगगुरु रामदेवको उपस्थितिमा पतञ्जलीका दुई च्यानल प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए।
उद्घाटन समारोहमा सत्ता गठबन्धनका शीर्ष नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समेत सहभागी थिए। सूचना तथा प्रसारण विभागले एकजना निर्देशकको संयोजकत्वमा चार सदस्यीय छानविन समिति गठन गरी स्थलगत अध्ययन थालेको विभागका महानिर्देशक गोगनवहादुर हमालले बताएका छन्। मण्डिखाटारमा स्थायी ठेगाना राखिएका दुवै अवैध च्यानलको कार्यालयमा गएर छानविन गरिने समितिले जनाएको छ।