काठमाडौं। रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाका कोरियन ठेकेदारमाथि स्थानियले कुटपिट गरेका छन्। काम भइरहेको स्थानमा पुगेका मा असन्तुष्ट स्थानीय युवाहरुको समूहले ठेकदार कम्पनीका प्रतिनिधिमाथि कुटपिट नै गरेका हुन्। कुटपिटबाट दुई विदेशी प्राविधिक घाइते भएको आयोजनाका एक अधिकारीले जानकारी दिए।
स्थानीयलाई काम नदिएको र स्थानीय उत्पादन नलिएको भन्दै असन्तुष्ट समूहले आयोजनास्थलमा पुगेर झैझगडा गरी प्राविधिकमाथि कुटपिट गरेको रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताए। चिनियाँ ठेकदार कम्पनी सिनो हाइड्रोले मुख्य प्रवेश सुरुङ, केबल सुरुङ, मुख्य सुरुङलगायतका संरचना निर्माण गरिरहेको छ। तर, आयोजनामा बारम्बार विवाद भएपछि यसबारे निर्माण कम्पनीले चिनियाँ तथा कोरियन दूतावास र गृहमन्त्रालयमा यसबारे जानकारी गराएको कम्पनीका एक अधिकारीले बताए।
आयोजना निर्माणका लागि इन्जिनियरिङ, खरिद र निर्माण मोडलमा कोरियन कम्पनी डुसानले ठेक्का पाएको छ, तर चिनियाँ कम्पनी सिनो हाइड्रोले सब–ठेकदारका रूपमा काम गरिरहेको छ। आयोजनाको प्रवर्द्धक नेपाल वाटर एण्ड इनर्जी डेभलप्पमेन्ट कम्पनीमा कोरियन सरकारको स्वामित्वमा रहेको कोरिया साउथ इष्ट पावर कम्पनी लिमिटेड (कोएन) र विश्व बैक समूह अन्तर्गतको अन्तराष्ट्रिय वित्त निगमलगायतको शेयर लगानी छ।