बिहिवार, आश्विन १५ गते २०८३

बुल्गेरियामा गुडिरहेको बसमा आगो लाग्दा ४६ जनाको मृत्यु

मंगलवार , मंसिर ७, २०७८

काठमाडौं। बुल्गेरियाको एक सडकमा गुडिरहेको बसमा आगो लाग्दा कम्तिमा ४६ जना यात्रुको मृत्यु भएको छ। बुल्गेरियाको राजधानी सोफियाबाट ५४ किलोमिटर टाढा रहेको स्ट्रमा हाइवेमा गुडिरहेका बेला राति २ बजे बसमा आगो लागेको र लगत्तै बस पल्टिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन्।

मृत्यु हुनेमा अधिकांश उत्तरी म्यासेडोनियाका पर्यटक रहेको त्यहाँका अधिकारीले बताएका छन्। दुर्घटनामा परी ज्यान गुमाउनेमा बालबालिका समेत छन्। बुल्गेरियाको आन्तरिक मामिला मन्त्रालयको सुरक्षा विभागका प्रमुख निकोलाई निकोलोभले जलेर गम्भीर घाइते भएका ७ जनालाई अस्पताल लगिएको बीटीभीलाई बताए।

दुर्घटनामा परेको बसमा ५३ यात्रु सवार थिए। उत्तरी म्यासेडोनियाका विदेशमन्त्री बुजार ओस्मानीका अनुसार टर्कीको इस्तानबुलमा विदा मनाएर राजधानी स्कोप्जेतर्फ फर्किने क्रममा पर्यटक बोकेको बस आगो लागेर पल्टिएको थियो। सोफियास्थित उत्तरी म्यासेडोनियाको दूतावासले दुर्घटनामा ज्यान गुमाउनेहरू आफ्ना नागरिक रहेको बताएको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार