काठमाडौं। आफ्नो ड्युटी आवर सकिएको भन्दै पाइलटले जहाज गन्तव्यमा नपुर्याई बिचमै अवतरण गरिदिएका छन्। नेपाल वायूसेवा निगमका पाइलटले आफ्नो ड्यूटी सकिएको भन्दै उडाउँदै गरेको प्लेन गन्तव्यमा नै नपुगी अवतरण गरिदिएका हुन्।
रुकुमका लागि उडेको नेपाल एयरलाइन्सको ट्वीनअटर बिमानका पाइलटले ड्यूटी सकिएको बहानामा नेपालगञ्जमा अवतरण गराएर ८ जना यात्रुलाइ अलपत्र बनाएका थिए। सोमबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको ट्वीनअटर विमान रुकुमको चौरजहारी विमानस्थल जाँदै थियो।
कुनै अग्रिम जानकारी समेत नगराई नेपालगंज विमानस्थलमा अवतरण गराइएको जनाइएको छ। जहाजका पाइलट पेम्बा शेर्पा थिए। सोमबार शेर्पाको ड्यूटी बिहान ५:३० बजे सुरु भएर अपरान्ह ४ बजेसम्म थियो। उनले ४ बजेपछि यात्रुलाई रुकुम पुर्याउन पर्नेमा नेपालगञ्जमा नै अवतरण गराए।
यसैबिच यस विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्पष्टीकरण सोधेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले रुकुम जानका लागि उडेको प्लेन नेपालगञ्जमा अवतरण के कारणले गरेको हो भनेर स्पष्टीकरण सोधेको बताए।