काठमाडौं। सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा मदिरा सेबन गरेका बाबुले एसिड प्रहार गर्दा छोराछोरी घाइते भएका छन्। सोलुदुधकुण्ड नगरपालिका-५ बसन्तबजारका २५ वर्षीय छोरा र १६ वर्षीया छोरीलाइृ बाबुले एसिड छ्यापेर घाइते बनाएका हुन्।
घाइते दुवै जनाको जिल्ला अस्पताल फाप्लुमा उपचार हुन नसकेपछि सोमवार राति नै थप उपचारको लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। सोमबार राति करिब साढे ८ बजे अन्दाजी ५५ वर्षका मोहन बराइलीले मादक पदार्थ सेवन गरेर आफ्नै छोराछोरीमाथि एसिड प्रहार गरेको प्रहरीले जनाएको छ।
घाइतेमध्ये छोरीको हातमा मात्रै चोट लागेको छ भने छोराको शरीरको विभिन्न भागमा चोट लागेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख कवित कट्वालले बताए। एसिड प्रहार गर्ने बराइलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।