काठमाडौं। नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुनलाई थप उपचारका लागि चिन लगिएको छ। स्वास्थ्य अवस्था गम्भिर रहेका उनललाई थाइल्याण्डमा सुधार नभएपछि चीन लगिएको हो। डेढ महिनादेखि थाइल्याण्डको बैंककस्थित समितिभेज अस्पतालमा उपचार गराइरहेका नेता पुनलाई थप उपचारका लागि चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेन लगिएको छ।
पुन विश्वमै विरलै देखिने जटिल प्रकृतिको जण्डिसबाट पीडित छन्। बैंककमा सुधार नभएपछि थप उपचार गर्न शुक्रबार चीन लगिएको माओवादी केन्द्रका केन्द्रीय सदस्य दुर्गा चापागाईंले जानकारी दिए। नेता पुनसँगै पूर्वसभामुख तथा उनकी पत्नी ओनसरी घर्ती र छोरी शीला बैंककबाट चीनको सेनजेन उडेका छन्। उनीहरु आजै मध्याह्न अस्पताल पुगेर उपचार सुरु हुने चापागाईंले जानकारी दिए।
जण्डिसले सताएपछि नेता पुनलाई गत असोज १३ गते बैंकक लगेर समितिभेज अस्पतालमा भर्ना गरिएको थियो। त्यहाँका चिकित्सकहरुले अब योभन्दा थप उपचार गर्न नसक्ने र स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार पनि नदेखिएको भन्दै चीनको सेनजेन लैजान सुझाव दिएका थिए।