काठमाडौं। विराटनगरको गोल्डेन अस्पतालमा एक बिरामीले आत्महत्या गरेका छन्। उपचारका लागि भर्ना भएका धनपालथान गाउँपालिका–१ का ३५ वर्षीय शिवकुमार मण्डलले आत्महत्या गरेका हुन्। शुक्रबार बिहान करिब ६ बजे अस्पतालबाट हामफालेका मण्डलको उपचारका क्रममा बिहान करिब ११ बजे मृत्यु भएको अस्पतालले बताएको छ।
अस्पतालका प्रशासकीय अधिकृत सन्तोष मेहताका अनुसार छारे रोगको उपचारका लागि उनी अस्पताल भर्ना भएका थिए। आफन्त कृष्ण मण्डलका अनुसार मंसिर ४ गते भर्ना भएका मण्डललाई अस्पतालले मंसिर ७ गते डिस्चार्ज गरे पनि उपचार खर्च १९ हजार रुपैयाँ तिर्न नसक्दा घर जान पाएका थिएनन्। उपचार खर्च ३६ हजार लागेकामा मण्डल परिवारले १९ हजार तिर्न बाँकी रहेको थियो।
मण्डलको कुरुवा उनकी सासु बसेकी थिइन्। प्रहरीका अनुसार सासु शौचालय गएका बेला मण्डलले अस्पतालबाटै हामफालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। मण्डलको मृत्यु भएपछि आफन्तले क्षतिपूर्ति माग गर्दै शव बुझ्न अस्वीकार गरेका छन्।
उपचारमा खटिएका नर्सले रोक्ने प्रयास गर्दा गर्दै मण्डलले हामफालेको अस्पतालका प्रशासकीय अधिकृत मेहताले बताए। छारे रोगको समस्या देखिएका मण्डलमा मानसिक समस्या पनि रहेको उनले बताए। मानसिक रोग भएकै कारण अस्पतालबाट हामफालेको उनले बताए।