काठमाडौं। दक्षिण अफ्रिकामा हालै भेटिएको कोरोना भाइरस (कोभिड-१९) को नयाँ भेरियन्ट ‘बी.१.१.५२९’ बढी जोखिमपूर्ण भएको वैज्ञानिकहरुले बताएका छन्। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले आपतकालीन बैठक बोलाएको छ। बेलायतले ६ वटा अफ्रिकी मुलुकबाट हुने हवाई उडान अस्थायी रुपमा बन्द गरेको छ।
दक्षिण अफ्रिकामा फेला परेको नयाँ भेरियन्ट ‘बी.१.१.५२९’ बाट २२ जना संक्रमित भएका छन्। नयाँ भेरियन्ट हङकङ र बोत्स्वानामा समेत फेला परेको छ। इजरायलमा मलाबीबाट आएका एक यात्रुमा समेत नयाँ भेरियन्ट पुष्टि भएको सञ्चार माध्यमहरुले जनाएका छन्।
वैज्ञानिकहरूका अनुसार दक्षिण अफ्रिकामा भेटिएको नयाँ भेरियन्टमा पटक–पटक एउटै प्रकारको म्युटेसन हुने ‘मात्रा अस्वभाविक’ देखिएको छ। म्युटेसनको ‘अस्वभाविक मात्रा’का कारण नयाँ भेरियन्टले शरीरको रोगप्रतिरोधी क्षमता छल्न सक्ने र थप संक्रामक बन्न सक्ने चिन्ता वैज्ञानिकहरुको छ।
केही दिनभित्रै नयाँ भेरियन्ट कति संक्रामक र गम्भीर छ भनेर पत्ता लाग्ने वैज्ञानिकहरुले बताएका छन्। नेटवर्क फर जिनोमिक सर्भिलेन्सका टुलियो डी ओलिभियराले म्युटेसनको क्षमता निकै उच्च रहेकाले कारण पुन: संक्रमण देखिएको बताएका छन्। दक्षिण अफ्रिकामा नयाँ भेरियन्ट भेटिएपछि डब्ल्यूएचओले आपतकालीन बैठक बोलाएको छ।