काठमाडौं। सर्लाही जिल्लामा नेपाली काँग्रेसको वडा अधिवेशन क्रममा आज झडप हुँदा ५ जना घाइते भएका छन्। सर्लाहीको निर्वाचन क्षेत्र ४ स्थित बलरा नगरपालिका वडा नम्बर ८ वडा अधिवेशनको क्रममा भएको विवादले उग्र रूप लिएपछि झडप भएको हो। सो झडपमा परी मतदान अधिकृत सहित ५ जना घाइते भएका छन्।
अधिवेशन गराउन पुगेका मतदान अधिकृत उमेशचन्द्र झामाथि आक्रमण भएपछि प्रहरीसँग झडप भएको थियो। सो झडपको क्रममा ५ जना घाइते भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडाले जानकारी दिए। वडा अधिवेशनकै क्रममा मतदान अधिकृत झामाथि हातपात हुन थालेपछि प्रहरी बचाउनका लागि प्रयास गर्ने क्रममा प्रहरीसँग झडप भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी खतिवडाले बताए।
झडपमा परेर झा सहित ३ जना प्रहरी र एक जना सर्वसाधारण घाइते भएको उनले बताए। यस अघि सोही क्षेत्रमा आइतबार साँझ वडा अधिवेशनकै क्रममा प्रदेश २ का महिला बालबालिका तथा खेलकुद मन्त्री वीरेन्द्र सिंहका पिएसओले हवाई फायर गरेका थिए।