काठमाडौं। धर्म परिवर्तन गराएको अभियोगमा डोल्पा अदालतले एक जनालाई २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ। जिल्ला न्यायाधीश केशवराज चपाईंको इजलासले पास्टर केशवराज आचार्यले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-२ का महिलालाई जबर्जस्ती धर्म परिवर्तन गराएको ठहर गर्दै २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना गरेको हो।
गत वर्ष आचार्यले बिरामी भएका दुई महिलाको उपचार गर्ने भन्दै ‘प्रभु येशुको नाममा हटिजा’ भनेको र ती महिलाहरुको फोटो भिडियो खिचेर प्रचार प्रसार गरेको भन्दै जिल्ला अदालत डोल्पामा मुद्दा परेको थियो। उनलाई मुलुकी फौजदारी संहिताको दफा १५८ को उपदफा १, २ र ३ अनुसार अदालतले सजाय सुनाएको वैतनिक वकिल घनश्याम उपाध्यायले जानकारी दिए।
आचार्य पोखरा चिप्लेढुंगास्थित प्रशस्त कटनी मण्डलका पास्टर हुन्। उनीविरुद्ध जिल्ला अदालत कास्कीमा पनि धर्मपरिवर्तनसम्बन्धी मुद्दा विचाराधीन छ। मुलुकी अपराध संहिताको दफा १५८ को (१) मा कसैले कसैको धर्म परिवर्तन गराउन र धर्म परिवर्तनको उद्योग गर्न नहुने उल्लेख छ।