काठमाडौं सत्तारुढ पाँच दलका शीर्ष नेताहरुको बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई बिदामा बसेर कार्यवाहक प्रधानन्यायाधीश तोक्न सुझाव दिएका छन् । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलका शीर्ष नेताहरुको बैठकले लामो समयदेखि अदालतमा अवरोध भएको र प्रधानन्यायाधीश बिरामी परेकाले तत्काल कार्यवाहक तोकेर अदालतको कामकारबाही अघि बढाउन सुझाव दिएका हुन् ।
प्रधानन्यायाधीश कै कारण न्यायालयको काम कारबाहीमा अवरोध उत्पन्न भएको निष्कर्ष निकाल्दै सहज निकासका लागि बिदामा बस्न जबरासँग आग्रह गर्ने निर्णय भएको सरकार प्रवक्ता एवंम् सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताउनु भयो । बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललगायतका नेताहरु सहभागी हुनुहुन्थ्यो ।
प्रधानन्यायाधीश जबराले अस्पतालमा बसेर अदालत चलाउन खोजेको भन्दै कानुन व्यवसायीहरुले आपत्ति जनाएका छन् । ३८ दिनपछि इजलास फर्किएका सर्वोच्च अदालतका न्यायाधीशहरुले पनि इजलास छाडेका छन् । उनीहरुले जबरालाई तत्काल बिदामा बसेर कामु प्रधानन्यायाधीश तोक्न आग्रह गरेका छन् । प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै आन्दोलित बनेको नेपाल बार एसोसिएशनले पछिल्लो केही दिन यता शीर्ष नेताहरुसँग भेट गरेर जबरालाई पदमुक्त गर्न माग गर्दै आएको थियो ।