काठमाडौं। भारतका चिफ अफ डिफेन्स स्टाफ विपिन रावतको हेलिकोप्टर दुर्घटनामा परेर मृत्यु भएको छ। भारतीय वायु सेनाले तमिलनाडूको कुन्नुर नजिकै भएको हेलिकोप्टर दुर्घटनामा रावतसहित उनको पत्नि मधुलिका र थप ११ जनाको मृत्यु भएको जानकारी दिएको छ।
दुर्घटनामा घाइते भएका ग्रुप क्याप्टेन वरुण सिंहको वेलिङ्टनस्थित सैनिक अस्पतालमा उपचार भइरहेको भारतीय वायु सेनाले जानकारी दिएको छ। रावत सवार हेलिकोप्टर बुधबार दिउँसो निलगिरिमा दुर्घटनाग्रस्त भएको थियो। रावत भारतको पहिलो चिफ अफ डिफेन्स स्टाफ हुन्। यसअघि उनी भारतीय स्थल सेनाध्याक्ष रहेका थिए।
उत्तराखण्डको गडवालमा सन् १९५८ मार्च १६ मा जन्मिएका रावत सन् १९७८ मा ११ गोर्खा राइफल्समा भर्ना भएका थिए। रावतले सन् २०२० जनवरीबाट भारतको चिफ अफ डिफेन्स स्टाफको जिम्मेवारी सम्हालेका हुन्।