काठमाडौं । जापानले नेपाललाई एस्ट्राजेनेकाको १६ लाख डोज खोप दिने घोषणा गरेको छ । कोभ्याक्स सुविधा अन्तरगत जापानले खोप दिन लागेको नेपालस्थित जापानी दूतावासले जनाएको छ ।
दूतावासका अनुसार यो खोप जुलाई मध्यदेखि अगस्ट अन्तिम सातासम्म नेपाल आइपुग्ने छ । जापानी राजदूत किकुता युताकाले नेपाल र जापानबीच लामो मैत्रीका रूपमा सहयोग घोषणा भएको जानकारी दिएका छन् ।
नेपालमा आउन लागेको अक्सफोर्डको एस्ट्राजेनेका खोप जापानमै उत्पादित रहेको बताइएको छ । अक्सफोर्डको एस्ट्राजेनेका फर्मुलामा उत्पादन गरिएको यो खोप भारतमा सेरम इन्स्टिच्युटद्वारा उत्पादन गरिएको कोभिसिल्ड खोपजस्तै रहेको पनि जनाइएको छ ।
यो खोप आएपछि पहिलो डोज कोभिसिल्ड लगाएर दोस्रो डोज लगाउन नपाएका करिब १० लाख ६५ वर्ष माथिका ज्येष्ठ नागरिकसहित १३ लाख ६५ हजार बढीले खोप पाउनेछन् ।