काठमाडौं। कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमणबाट वेलायतमा पहिलो मृत्यु भएको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले मृत्युको पुष्टि गरे । लण्डनको एक खोप केन्द्रको भ्रमणको क्रममा प्रधानमन्त्री जोन्सनले ओमिक्रोनको संक्रमणलाई हल्का ढंगले नलिन आह्वान गरे ।
उनले भने, दु:खको कुरा ओमिक्रोनको संक्रमणबाट मानिसहरु अस्पताल भर्ना भइरहेका छन् र एक जना बिरामीको यसबाट मृत्यु पनि भइसकेको छ । स्वास्थ्यमन्त्री साजिद जाविदले ओमिक्रोन भेरियन्टबाट बेलायतमा २० प्रतिशत संक्रमित रहेको र १० प्रतिशत बिरामी अस्पताल भर्ना भएको जानकारी दिए । उनले ओमिक्रोनबाट संक्रमित हुनेको संख्या ४४ प्रतिशतले वृद्धि भएको पनि उनले बताएको बीबीसीले जनाएको छ ।