काठमाडौं। मलेसियाको जोहोरमा डुङ्गा दुर्घटना हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ। २७ जना अझै पनि बेपत्ता रहेको अधिकारीले बुधबार जानकारी दिएका छन्।अचानक खराब मौसमका कारण दुर्घटना भएको बताइएको छ।
अवैध रूपमा सामुद्रिक मार्ग पार गरिरहेका वेला दुर्घटना भएको जनाइएको छ। मृत्यु भएका र बेपत्ता भएका मध्ये अधिकांश इन्डोनेसियाली नागरिक रहेका छन्। मलेसियाको दक्षिणी क्षेत्रमा दुर्घटना भएको हो। बेपत्ता भएकाको खोजीका लागि उद्धारकर्ता परिचालन गरिएको छ।
यस क्षेत्रमा यस्ता दुर्घटना वेला वेलामा हुने गरेका छन्। दुर्घटनामा परेको डुङ्गामा ६० यात्रु रहेका थिए। घटनामा परी मृत्यु भएका मध्ये सातजना पुरुष र चारजना महिला रहेका छन्। उद्धारकर्ताहरूले २० पुरुष र दुई महिलालाई भने जीवितै उद्धार गरेका छन्। बेपत्ता भएकाहरू जीवितै भेटिने सम्भावना कम रहेको खोजी तथा उद्धार कार्यमा संलग्नले बताएका छन्।