काठमाडौं। सरकारले सरकारले सन्दीपचन्द्र बानियाँ, सुदीपचन्द्र बानियाँ र आत्माराम कुर्मीको नेपाली नागरिकताको प्रमाणपत्र रद्द गर्ने निर्णय गरेको छ । बिहिबारको मन्त्रीपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।
कोभिड-१९ को आकस्मिक प्रतिकार्य तथा जनस्वास्थ्य जोखिम पूर्वतयारी परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने १४ मिलियन अमेरिकी डलर थप ऋण सहायता प्राप्त गर्न टोली गठन गर्ने निर्णय पनि गरेको छ ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शिक्षक सेवा आयोग (एघारौँ संशोधन) नियमावली, २०७८ स्वीकृत गर्ने निर्णय भएको जानकारी दिए । सरकारले सत्यनिरुपण तथा मेलमिलाप आयोगको सिफारिशमा पूर्णप्रसाद पौडेललगायत २९ जनालाई रु २३ लाख २० हजार क्षतिपूर्ति दिने निर्णय गरेको छ ।
यस्तै सरकारले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति (पहिलो संशोधन) गठन आदेश, २०७८ स्वीकृत गरेको छ । बैठकले विनोदकुमार भट्टराईलाई नेपाल न्याय सेवा, कानून समूहको राजपत्राङ्कित प्रथम श्रेणी र रामप्यारी सुनुवारलाई नेपाल न्याय सेवा, न्याय समूहको राजपत्राङ्कित प्रथम श्रेणी पदमा नियुक्ति गर्ने निर्णय गरेको छ ।
सरकारले सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललाई भारतीय सशस्त्र बलको ५८औं स्थापना दिवस कार्यक्रममा भाग लिन स्वीकृति दिएको छ । बैठकले ‘दि एलाइन्स फ्रान्सकासिस काठमाडौँ’ (एएफके)सँग भएको सम्झौता परिमार्जन गरी संशोधित सम्झौतामा हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई स्वीकृति दिएको छ ।
सरकारले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत गरिबी निवारण कोष अभिलेख व्यवस्थापन कार्यक्रम कार्यान्वयनका लागि पाँच अधिकृतको अस्थायी दरबन्दी स्वीकृत गरेको छ ।
यस्तै बैठकले धादिङको बेनीघाट रोराङ गाउँपालिकालाई प्रशासकीय भवन निर्माणका लागि १० रोपनी जग्गा प्रयोग गर्न तथा भोटेओडार आँखा उपचार केन्द्र सुन्दर बजार, लमजुङलाई भवन निर्माण गर्न एक रोपनी जग्गा भाडामा उपलब्ध गराउने भएको छ ।
राष्ट्रिय युवा परिषद्को उपाध्यक्ष नियुक्तिका लागि डा दामोदर रेग्मीको अध्यक्षतामा तीन सदस्यीय सिफारिस समिति पनि गठन गरिएको छ । नेपाली सेनाका सहायकरथी डा अरुणकुमार न्यौपानेलाई उपरथीमा बढुवा गरिएको छ ।
सहायकरथी सागरबहादुर केसीलाई अवकाश पूर्वउपरथीमा मानार्थ बढुवाकासाथै अन्य चार सैनिक अधिकृतको बढुवा गरेको छ । महासेनानी खगेश्वर अर्यालको अवकाशपूर्व विशेष बढुवा गर्ने निर्णय भएको छ । सेनाका प्राविधिक सेवाका सहायकरथी हेगेन्द्रलाल महर्जन र महासेनानी खुमबहादुर कुँवर क्षेत्रीको पदावधि थप भएको छ ।
नेपाल विद्युत् प्राधिकरणलाई सुर्खेत–बिजौरा ३३ केभी प्रसारण लाइन आयोजनाको पोल तथा राइट अफ वे संरचना निर्माणका लागि वीरेन्द्रनगर नगरपालिका र बाराहताल एवं पञ्चपुरी गाउँपालिकास्थित चेतना सामुदायिक वनलगायतको १०.५२ हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृत प्रदान गरिएको छ ।
जिल्लासभा कालीकोटका नाममा रहेका दुई हजार २९० वर्गमिटर जग्गा खाँडाचक्र नगरपालिका कालिकोटका नाममा हक हस्तान्तरण तथा विभिन्न १३ स्थानीय तहलाई विभिन्न परियोजनाका लागि जग्गा प्राप्ति गर्न स्वीकृति दिइएको छ ।
सरकारले लोकसेवा आयोगबाट सिफारिश भई आएका डा प्रज्वल श्रेष्ठसहित १० जनालाई नेपाल स्वास्थ्य सेवाको ११औँ तहमा नियुक्त गर्ने निर्णय गरेको छ । बैठकले नेपाल राजस्व परामर्श विकास समितिका सदस्य निर्मलहरि अधिकारीको राजीनामा स्वीकृत गरेको छ ।