काठमाडौँ। आसन्न स्थानियतह निर्वाचनमा खटिने सुरक्षाकर्मीको सुविधामा भारी कटौती गरिएको छ । तर निर्वाचन आयोगका पदाधिकारी र कर्मचारीले स्थानीय तह निर्वाचनमा शतप्रतिशत भत्ता र अतिरिक्त सुविधा पाउँदै छन् । आयोगले पदाधिकारी र कर्मचारीलाई निर्वाचन मिति घोषणा भएदेखि अन्तिम परिणाम आएको थप ३५ दिनसम्म शतप्रतिशत भत्ता र अतिरिक्त सुविधा दिने निर्णय गरेको छ ।
उनीहरूले दैनिक खाजा/खाना खर्च तथा छुट्टै सञ्चार सुविधाबापतको रकम पाउनेछन् भने कार्यालय सहयोगीले समेत दैनिक एक हजार भत्ता पाउनेछन् । २०७९ वैशाख ३० मा हुने निर्वाचन प्रयोजनका लागि सेना, प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागलाई औषधि खरिद, खाना/खाजा, विशेष भत्तालगायत १२ वटा शीर्षकको बजेट शतप्रतिशत कटौती गरिएको छ । विगतका निर्वाचनमा सुरक्षाकर्मीले एक साताका लागि यस्ता भत्ता पाउँथे ।
निर्वाचन अवधिभर औषधि खरिदका लागि दिइने बजेट पनि यसपालि हटाइएको छ । निर्वाचन भयरहित बनाउन अग्रभागमा खटिने सुरक्षाकर्मीका लागि मागेभन्दा निकै कम बजेट विनियोजन गरेको सरकारले म्यादी प्रहरीलाई लट्ठी किन्ने बजेटसमेत कटौती गरेको छ । यसअघि म्यादीको पोसाक खर्च छुट्टै र लट्ठीबापत छुट्टाछुट्टै बजेट विनियोजन हुने गरेकोमा अहिले लट्ठीको खर्च पोसाकमै गाभिएको छ ।
२०७४ को स्थानीय तह निर्वाचनमा सुरक्षाकर्मीलाई एक साताका लागि दैनिक २ सय ५० रुपैयाँ खाजा खर्च र सोही अंकमा विशेष भत्ताबापतको रकम दिइएकामा यस पटक यी दुवै भत्ता कटौती भएको छ । यस्तै सञ्चार महसुल, कर्मचारी तालिम, विविध खर्च, औषधि खरिद, घर भाडा, अन्य भाडा, सवारीसाधन, फर्निचर/फिक्चर्स, निर्मित भवनको संरचनागत सुधार शीर्षकको बजेट पनि पूरै काटिएको छ । चुनावी भत्तासमेत कटौती गरिएको प्रति चारवटै सुरक्षा निकायले अर्थ मन्त्रालयसँग असन्तुष्टि जनाएका छन् ।
सेना र प्रहरीका करिब ७०/७० हजार, सशस्त्रका करिब ३२ हजार र म्यादी प्रहरी १ लाख परिचालन गर्ने सरकारको योजना छ । त्यहीअनुसार म्यादी प्रहरीका लागि चैत ६ बाट भर्ना खुलाउन प्रहरीले आवेदन मागिसकेको छ ।