काठमाडौँ। चालु आर्थिक वर्षको पहिलो सात महिनामा करिब ७ अर्वको फलफुल मात्रै आयात भएको छ । सात महिनामा ६ अर्ब ६० करोड ९१ लाख २८ हजार ६०० मूल्य बराबरको फलफूल आयात भएको छ । यस अवधिमा आँप, सुन्तला, कागती, अङ्गुर र स्याउको आयात ह्वात्तै बढेको हो ।
तीमध्ये सबैभन्दा बढी स्याउको आयात भएको छ । भन्सार विभागका अनुसार छिमेकी मुलुक चीनबाट तीन अर्ब २२ करोड २२ लाख ३० हजार मूल्यका विभिन्न जातका तीन करोड ८३ लाख ५९ हजार १३३ केजी स्याउ आयात भएको छ ।
नेपालमा ठूलो परिमाणमा स्याउ आयात हुने अर्को छिमेकी मुलुक भारत हो । चालु आर्थिक वर्षको माघ मसान्तसम्म भारतबाट एक अर्ब १५ करोड ३२ लाख ५६ हजार मूल्य बराबरको ११ लाख ५३ हजार २५६ केजी स्याउ आयात भएको भन्सार विभागले जनाएको छ ।
विभागका अनुसार सोही अवधिमा टर्कीबाट २६ लाख २५ हजार मूल्य बराबरको स्याउ आयात भएको छ । समग्रमा चालु आर्थिक वर्षको पहिलो सात महिनामा कूल चार अर्ब ३७ करोड ८१ लाख ११ हजार मूल्य बराबरको स्याउ आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।