काठमाडौं। नेपाली कांग्रेसभित्र एकलौटी चलेको भन्दै केही केन्द्रिय सदस्यहरुले चिन्ता व्यक्त गरेका छन्।
शुक्रबार साँझ कांग्रेसका करिब एक दर्जन केन्द्रीय सदस्यहरुले संस्थापन पक्षभित्र केही नेताहरूको 'मोनोपोली' चलेको भन्दै चिन्ता व्यक्त गरेका हुन्।
केन्द्रीय सदस्यहरु मीन विश्वकर्मा, नैनसिंह महर, मदन अमात्य, योगेन्द्र चौधरी, भोजराज श्रेष्ठ, हरिकृष्ण नेपाली, नानू बास्तोला, सरस्वती अर्याल, अब्दुल मियाँलगायत नेताहरुबीचको छलफलले संस्थापन पक्षभित्र भइरहेको पक्षपाती व्यवहारबारे सभापति शेरबहादुर देउवालाई भेटेर ध्यानाकर्षण गराउने निणर्य समेत गरेका छन्।
संकटग्रस्त अर्थतन्त्र र चुनावी समीक्षाका लागि केन्द्रीय समिति बैठकको माग गर्ने छलफलले निष्कर्ष निकालेको विश्वकर्माले बताए। केन्द्रीय समितिमा मोर्चाबन्दी गरेर दबाब बढाउने उनीहरूको तयारी छ।