काठमाडौं । प्रतिनिधिसभाको मध्यावधि निर्वाचनसम्बन्धी सबै कार्यक्रमहरू रद्द भएका छन् ।
निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बुधबार विज्ञप्ति जारी गरी यसअघी घोषणा गरिएको मध्यावधी निर्वाचनका सबै कार्यक्रम रद्ध गरिएको जानकारी गराएका हुन् ।
सर्वोच्च अदालतको फैसलाले प्रतिनिधिसभा पुनःस्थापना भएसँगै निर्वाचन आयोगले निर्वाचन कार्यतालिका रद्द गरेको विज्ञप्तिमा भनिएको छ ।
गत जेठ ७ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी कात्तिक २६ र मंसिर ३ गतेका लागि निर्वाचन घोषणा गरेकी थिइन् ।
त्यसका लागि आयोगले असार २१ गते निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो । आयोगले यसअघि पनि तत्कालीन केपी ओली सरकारले प्रतिनिधिसभा भंग गर्दै वैशाखमा तोकिएको निर्वाचनको कार्यतालिका पनि अदालतको संसद् पुनःस्थापनाको आदेशपछि रद्द भएको थियो ।