काठमाडौं। हाल प्रर्दशनमा रहेको हलिउड साइन्स-फिक्सन फिल्म ‘अवतार: द वे अफ वाटर’मा अब दर्शकहरुले बन्दुक हिंसाका दृश्य हेर्न नपाउने भएका छन्।
बधबारदेखि १० मिनेटको दृश्यलाई कटौती गरिएको निर्देशक जेम्स क्यामरुनले बताए। सयौंको ज्यान जाने गरी अमेरिका, न्युजिल्याण्ड लगायतका मुलुकमा हालै भएका गोलीबारीका घटनालाई ध्यानमा राखेर फिल्मको लम्बाइ छोटाइएको उनले जानकारी दिए।
१० मिनेट छोटिएपछि अब फिल्मको लम्बाइ तीन घण्टामा सीमित भएको छ । ‘म आफ्ना एक्सन दृश्यमा बन्दुकको प्रयोग भएको हेर्न चाहँदिन,’ क्यामरुनलाई उध्दृत गर्दै भेराइटी म्यागजिनले लेखेको छ ।
उनले भनेका छन्, ‘मैले बन्दुक हिंसाका दृश्यलाई लक्षित गर्दै फिल्मको लगभग १० मिनेट काटें । म केही कुरूपताबाट छुटकारा पाउन, उज्यालो र अँध्यारोबीचको सन्तुलन खोज्न चाहन्छु । पक्कै पनि द्वन्द्व हुनुपर्छ । हिंसा र एक्सन एउटै कुरा हो, तपाईं यसलाई कसरी हेर्नुहुन्छ त्यसमा निर्भर गर्दछ । हरेक एक्सन फिल्म निर्माताको दुविधा हो, र म एक एक्सन फिल्म निर्माताको रूपमा चिनिन्छु ।’