बिहिवार, कार्तिक ६ गते २०८३

रविविरुद्धकाे मुद्दामा निवेदक पक्षको वहश सकियो: रवि नेपाली मूलका विदेशी हुन्, आफूलाई कानूनभन्दा माथि ठाने

बुधवार , माघ ११, २०७९

काठमाडौं। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दामा भइरहेको अन्तिम सुनुवाइमा रिट निवेदकतर्फका कानुन व्यवसायीहरूको बहस सकिएको छ ।

बहसका क्रममा रिट निवेदक तर्फका कानुन व्यवसायीहरूले लामिछाने आजका मितिसम्म नेपाली नागरिक नभएको जिकिर गरेका छन् ।

कानुन व्यवसायी रमण कणर्ले ऐनमा ‘नेपाली नागरिकले नेपालको नागरिकता त्याग्न तोकिए बमोजिम सूचना गरेपछि तोकिएको अधिकारीले त्यस्तो सूचना दर्ता गर्नेछ र त्यसरी दर्ता गरिएको मितिदेखि निजको नेपाली नागरिकता कायम रहने छैन’भन्ने स्मरण गराए।

यसरी हेर्दा पनि लामिछाने नेपाली नागरिक नरहेको र उनले अमेरिकी नागरिकता तथा राहदानी त्यागेर नेपाली नागरिकता लिनका लागि कतै पनि निस्सा पेस नगरेको कणर्को भनाइ छ ।

यस्तै अधिवक्ता सुरेन्द्र भण्डारीले रवि लामिछाने अहिले नेपाली मूलका विदेशी नागरिक भएको दाबी गरेका छन्। उनले बहस गर्दै रविले आफूलाई कानूनभन्दा ठूलो ठानेको जिकिर गरे। अधिवक्ता भण्डारीले विदेशी नागरिकता त्यागेको भने पनि प्रमाण पेश गर्न नसकेको दाबी गरे। 

अब रविका पक्षबाट वरिष्ठ अधिवक्ता सुशील पन्तसहित चारजना कानुन व्यवसायीले बहस गर्नेछन् । सो मुद्दामा प्रमाणका आधारमा पक्ष,विपक्ष र सरकारी वकिलको बहसपछि आज फैसला हुने जनाइएको छ ।

सर्वोच्चले मुद्दामाथि सुनुवाइ गर्न कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा वरिष्ठतमका आधारमा संवधानिक इजलास गठन गरेको छ ।  

इजलामा कामु प्रधानन्यायाधीश कार्की र न्यायाधीशहरूमा विश्वम्भरप्रसाद श्रेष्ठ,ईश्वरप्रसाद खतिवडा,आनन्दमोहन भट्टराई,अनिलकुमार सिन्हा छन्।

अमेरिकी नागरिकता त्याग नगरी झुटा विवरण पेश गरी नेपाली राहदानी बनाएको लामिछानेमाथि आरोप छ ।

सर्वोच्चले रिट निवेदन उपरको सुनुवाइ स्थगित नहुने गरी लामिछानेको मुद्दामा आजबाट संवैधानिक इजलासमा अन्तिम सुनुवाइ गर्न लागेको हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार