वाग्मती प्रदेश सरकारले पूणर्ता पाएको छ । नवनियुक्त ८ मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेसंगै सरकारले पूणर्ता पाएको हो ।
मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मुख्यमन्त्री नियुक्त भएको १७ औं दिनमा दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरी पूणर्ता दिएका हुन्।
हेटौंडा-१० स्थित प्रदेश प्रमुखको कार्यालयमा नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए। नेकपा एमालेबाट मन्त्रिपरिषद्मा एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायात, रामेश्वर श्रेष्ठ स्वास्थ्य र केशव पोखरेलले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन्।
यस्तै, माओवादी केन्द्रबाट युवराज दुलालले भौतिक पूर्वाधार विकास, गंगानारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानुन र कुमारी मोक्तानले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाए।
राप्रपाका डम्बर तामाङलाई पर्यटन, उद्योग तथा सहकारी तथा राजु विष्ट वन तथा वातावरण मन्त्रालयको जिम्मेदवारी दिईएको छ ।
यस्तै विनाविभागीय मन्त्री रहेका उद्धव थापाले खानेपानी, ऊर्जा तथा सिचाईं मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ । एमालेबाट यसअघि जगनाथ थपलिया आर्थिक मामिला तथा योजनामन्त्री नियुक्त भइसकेका छन्। वाग्मतीमा अब ११ सदस्यीय मन्त्रिपरिषद् भएको छ । प्रदेशमा मन्त्रालयको संख्या १४ बाट घटाइएको हो ।