बिहिवार, कार्तिक ६ गते २०८३

काठे पुल भाँच्चिदा ट्रक दुर्घटना दुईको मृत्यु, चार घाइते    

आइतवार , श्रावण ३, २०७८

काठमाडौं । मुस्ताङको घरपझोङ गाउँपालिका ५ ठिनी खोलामा मालबहाक ट्रक दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । चारजना घाइते भएका छन् ।

ठिनीबाट सामान लिएर ढुम्बातर्फ जाँदै गरेको ग१ख ६८५२ नम्बरको ट्रक ठिनी खोलामा रहेको काठेपुल भत्किँदा आज बिहान दुर्घटना भएको थियो ।     
     
ट्रकमा सातजना सवार रहेका बताइएको छ । मृत्यु हुनेमा रामेछापको गोकुल गङ्गा गाउँपालिका-१ बस्ने अन्दाजी ३८ वर्षीय चित्रबहादुर श्रेष्ठ र उनकी श्रीमती अन्दाजी २६ वर्षीया मोनिका श्रेष्ठ रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मुस्ताङका प्रहरी सहायक निरीक्षक जीतबहादुर केसीले जानकारी दिए ।     
     
नवलपरासी जिल्ला विनय त्रिवेणी गाउँपालिका–३ बस्ने ट्रक चालक ३६ वर्षीय शिवराम ठाडा मगर सामान्य अवस्थामा रहेका छन्। चालकलाई नियन्त्रणमा लिइएको जनाइएको छ ।

घाइते हुनेमा बागलुङ जिल्ला ढोरपाटन नगरपालिका– २ बस्ने २२ वर्षीय सुशील घर्तीमगर, २५ वर्षीय लुद्रबहादुर कामी रहेका छन् । उनिहरु मजदूरीका लागि मुस्ताङ प्गेका थिए।     
     
त्यसैगरी घाइते हुनेमा पर्वतको जलजला गाउँपालिका-४ का १८ वर्षीय सहचालक दिनेश दर्जी र ओखलढुङ्गा जिल्ला सिन्चीदोम्बा गाउँपालिका-0७ बस्ने अन्दाजी २९ वर्षीय दावा शेर्पा छन् । उनिहरुको जोमसोम जिल्ला अस्पताल मुस्ताङमा उपचार भइरहेको छ ।     
     
घाइतेको अवस्था सामान्य रहेको ट्राफिक कार्यालयले जनाएको छ । ट्रकमा १०० बोरा सिमेन्ट, चार थान प्लाइउड र ५० वटा फलामको ट्रस पाइप रहेको सहचालक दर्जीले जानकारी दिए । जीर्ण भएको काठको कच्ची पुलले ट्रकको भार थाम्न नसक्दा उक्त दुर्घटना भएको जनाइएको छ ।     

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार