काठमाडौं । हरेकवर्ष पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने बोलबम मेला यसवर्ष नहुने भएको छ । कोभिड–१९ को जोखिमका कारण तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थल पवित्रधाम देवघाटमा यो वर्ष बोलबम मेला नहुने भएको हो ।
देवघाट क्षेत्र विकास समितिले यस वर्ष बोलबम मेला नगर्ने निर्णय गरेको समितिका कार्यकारी निर्देशक धीरेनबाबु घिमिरेले जानकारी दिए। कोरोना भाइरस सङ्क्रमणको जोखिम कायमै रहेका कारण मेला नगर्ने निर्णय भएको उनले बताए।
देवघाटमा हरेक वर्ष साउन महिनाको हरेक सोमबार बोलबम मेला लाग्ने गर्छ । मेला भर्न लाखौं भक्तजन देवघाट पुग्ने गर्दछन् । हरेक वर्ष साउन महिनामा देवघाटमा श्रावणी बोलबम मेला एउटा विशेष उत्सवको रुपमा मनाउने परम्पराको विकास हुँदै आएको छ ।
मुक्तिनाथबाट बगेर आएको कालीगण्डकी र गोसाइँकुण्डबाट बगेर आएको त्रिशूलीको सङ्गम बेणीमा बोलबमको अवसरमा स्नान गर्नाले भगवान शिव खुशी हुने र चर्मरोग निको हुने जनविश्वास छ ।
समितिले आयोजकको रुपमा बोलबम मेला नगरे पनि स्वास्थ्य मापदण्डको पालना गरेर स्नान गर्न आउने भक्तजनलाई भौतिक दूरी कायम गर्दै स्नान गर्न भने दिन सकिने जनाएको छ। घिमिरेका अनुसार भक्तजनलाई नदीमा स्नान गर्न सकिने गरी व्यवस्था मिलाइएको छ ।
स्नान गर्दा नदीमा डुब्न सक्ने भएकाले उद्धारका लागि डुङ्गाको व्यवस्था गरिएको छ । समितिले गतवर्ष कोरोना जोखिमका कारण बोलबम मेला आयोजना गरेन ।