काठमाडौं। ज्ञान चक्षु इङ्लिस स्कुलको १७ औ वार्षिकाेत्सव तथा अभिभावक दिवस भव्य रुपमा सम्पन्न भएको छ । स्कुललाई अझ प्रभावकारी र अभिभावकमाझ लैजाने उदेश्यले शनिबार स्कुलले १७ औ वार्षिकाेत्सव तथा अभिभावक दिवस मनाएकाे हाे।
कार्यक्रम वरिष्ठ गायक-गायिका तथा कलाकारहरूले बजाेड प्रस्तुती दिएका थिए।
वार्षिकाेत्सवकाे अवसरमा आयोजित पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि रहेका नेपाली कांग्रेसका युवा नेता तथा सांसद प्रदिप पौडेलले सरकारी विद्यालय भन्दा नीजि स्तरका विद्यालयहरूको शैक्षिक गुणस्तर राम्रो भएकाे बताए । तर, निजी विद्यालयको शुल्क महँगो भएको र अभिभावकले तिर्न कठिन भएकोले यसमा पनि राज्यको लगानी आवश्यक रहेको उनले औँल्याएका हुन् ।
प्रमाणपत्रमुखी भन्दा पनि नेतृत्व गर्ने शिक्षा आजको आवश्यकता रहेको बताउँदै उनले प्रतिस्पर्धात्मक शिक्षाबाट नै दक्ष जनशक्ति उत्पादन हुने भएकाले यसमा विद्यालयले जोड दिनुपर्ने बताए ।
कार्यक्रमका सभापति तथा विद्यालयका संस्थापक निर्देशक रमेश श्रेष्ठले ज्ञान चक्षु इङ्लिस स्कुलले बोलेर मात्र नभई कामले गुणस्तरीय शिक्षा प्रदान गर्ने बताए । उनले विद्यालयको गुणस्तरलाई उकास्नका लागि शिक्षक, विद्यार्थी, अभिभावक तीनै पाटाको महत्वपूर्ण भूमिका हुने भएकाले त्यो अवस्था यस स्कुलमा भएकाले काठमाडौं उपत्यकाको उत्तरी भेगको उत्कृष्ट हुन सफल भएकाे बताए ।
उनले निकट भविष्यमा नै शैक्षिक पूर्वाधारयुक्त विद्यालयको आफ्नै भबन निर्माण हुने खुलासा गरे । हाल प्लेग्रुपदेखि १० कक्षा सम्म मात्र भएकाले प्लस टु सम्म सञ्चालन गर्ने उद्घोष गरे । विद्यालयका प्रधानाध्यापक मीन कुमार कोइरालाले भावी शैक्षिक योजना प्रस्तुत गर्दै विद्यालयले दिएको महत्त्वपूर्ण जिम्मेवारीलाई आत्मसात गर्दै अगाडि बढ्ने बताए ।
उनले विगतको अनुभव र आजको आवश्यकतालाई आत्मसात गर्दै विद्यालयलाई पहिलाे बनाउन आफू दत्तचित्त भएका लाग्ने बताए । उनले न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्न स्कुल सक्षम रहेको दावी गरे ।
कार्यक्रममा वरिष्ठ गायक हेमन्त शर्मा, राष्ट्रिय कलाकारहरु रिता के.सी., जादुकर शेर बहादुर गुरुङ्ग, नृत्याङ्ग शुसिला थापा लगायतले आ–आफ्नो प्रतिभा देखाई कार्यक्रमलाई रोमाञ्चक बनाएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि तथा अतिथि, कलाकार तथा समाजसेवीलाई मायाको चिनो प्रदान गरिनुका साथै विद्यार्थीहरूले नाचगान तथा खेलकुदका कार्यक्रम गरि आफ्नो प्रतिभा प्रस्तुत गरिएको थियो ।
सो कार्यक्रममा विद्यालयका शिक्षा कर्मचारी पुरस्कार प्रदान गरिनुका साथै विद्यालयको अतिरिक्त क्रियाकलापमा सहभागि उत्कृष्ट विद्यार्थीहरूलाई मेडल तथा प्रमाणपत्र वितरण गरिएको थियो ।
कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सदस्य कल्पना शर्मा, नेकपा एमालेका जिल्ला कमिटी सदस्य नारायण भाइ श्रेष्ठ, मनास्लु वर्ल्ड कलेजका प्राचार्य राजन श्रेष्ठ, व्यवस्थापन समिति सदस्य सावित्री बस्नेत श्रेष्ठलगायतको उपस्थिति रहेकाे थियाे।
२०६२ सालमा स्थापित ज्ञान चक्षु स्कुलले गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै विद्यार्थीहरूलाई विभिन्न अतिरिक्त क्रियाकलापहरू प्रदान गर्दै आइरहेको छ ।
२१ औं शताब्दीको समय सापेक्ष र प्रविधि मैत्री, शान्त वतावरणमा अनुभवी शिक्षक शिक्षिकाबाट पठन पाठन गरिने भएकाले सबै अविभावकको रोजाईमा परेको छ ।