सोमवार, श्रावण २५ गते २०८३

स्ववियु निर्वाचन : अन्तिम नामावली प्रकाशन, प्रचारप्रसार सुरु

सोमवार , फाल्गुण २९, २०७९

काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ ।

यही फागुन २७ गते उम्मेदवार मनोनयन गराएका उम्मेदवारको छानविन र उम्मेदवारी फिर्ता गरेपछि अन्तिम नामावली प्रकाशन गरिएको हो । सोमबार उम्मेदवारले नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको थियो । सोमबार अन्तिम नामावली प्रकाशन भएसँगै अब उम्मेदवार प्रचारप्रसार गर्न पाउनेछन् ।

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीका अनुसार उम्मेदवारले आजदेखि चैत २ गते राती १२ बजेसम्म प्रचारप्रसार गर्न पाउनेछन् ।

स्ववियु निर्वाचनमा आचारसंहितामा प्रचारप्रसार गर्नका लागि रङ्गरोगन र कुनै पनि प्रकारको पोस्टर टाँस्न नपाइने उल्लेख छ ।  यस्तै, आचारसंहितामा निर्वाचनसम्बन्धी कुनै पनि तुल, फ्लेक्स र कुनै प्रकारको पोस्टर टाँस्न नपाइने उल्लेख गरिएको छ ।

स्ववियु निर्वाचन केही क्याम्पसमा भर्ना विवादका कारणले रोकिएका छन् । उनले सम्बन्धित क्याम्पस प्रमुखलाई भर्ना विवाद समस्या समाधान गरेर निर्वाचन प्रक्रिया सुरु गर्न निर्देशन दिएको जानकारी दिए।

अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् ।

स्ववियु निर्वाचनका लागि मतदान चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार