बुधवार, आश्विन १४ गते २०८३

आईसीसी विश्वकप लिग-२ः युएईविरुद्ध जित निकाल्नैपर्ने दवावमा नेपाल

बिहिवार , चैत्र २, २०७९

काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग-टू अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला अन्तर्गत अन्तिम खेलमा नेपालले आज युएईसँग खेल्दैछ । खेल बिहान साँढे ९ बजेबाट त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।

बिहीबारकाे खेलमा विजयी भए नेपालले जिम्बावेमा हुने विश्वकप छनोटमा सोझै स्थान बनाउनेछ । पराजित भएमा वा कुनै विशेष कारणवश अंक बाँड्नु परेमा भने नेपालले क्वालिफायर खेल्नुपर्ने हुन्छ ।

नेपाल पराजित भएमा भने नामिबियाले सोझै विश्वकप खेल्न पाउनेछ । नेपालले एकदिवसीय मान्यता भने जोगाइसकेको छ । नेपाल ३५ खेलबाट ३८ अंकका साथ चौथो स्थानमा छ । नामिबिया ३६ खेलबाट ३९ अंकका साथ तेस्रो स्थानमा छ ।

यदि नेपाल विजयी भएमा ४० अंक हुनेछ । तर कुनै कारण खेल नतिजा विहीन हुँदै अंक बाँड्नु पर्ने अवस्था आए नेपाल र नामिबिया दुवैको ३९-३९ हुनेछ ।

नामिबिया सर्वाधिक जित प्रतिशतको कारण सोझै विश्वकप छनोटमा पुग्नेछ । युएई ३५ खेलबाट ३३ अंकका साथ छैटौं स्थानमा छ । 

नेपाल आफ्नो उच्च लय, मनोबल, घरेलु मैदान र दर्शकको भरपूणर् फाइदा उठाउँदै युएईलाई हराउँदै सोझै विश्वकप छनोटमा पुग्ने योजनामा छ । नेपालले पछिल्लो ११ खेल मध्ये १० मा जित निकालेको छ ।

उता, युएईको पछिल्लो समय प्रदर्शन सम्झन लायक छैन । युएईले पछिल्ला १२ मध्य २ खेलमा मात्रै जित हात पारेको छ । नेपाल र युएईबीच हालसम्म १२ ओडिआई खेल भएको छ ।

जसमा समान ६ खेलमा जित र ६ खेलमा हार छ । नेपालले पछिल्ला दुवै खेलमा भने युएईलाई पराजित गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार