भोली हुने उपराष्ट्रपति पदको निर्वाचनको तयारी पूरा भएको छ । भोली नयाँ बानेश्वरको संसद भवनमा हुने उपराष्ट्रपति पदको निर्वाचनको तयारी पूरा भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालयका प्रमुख महेश शर्मा पौड्यालले चुनावका लागि मतदान केन्द्र निर्माण, मतपत्रको तयारी लगायत सम्पूणर् तयारी पूरा भएको जानकारी दिए। मतदानका लागि संसद भवनको ल्होत्से हलमा २ वटा मतपेटिकाको व्यवस्था गरिएको छ ।
मतदान बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म गरिने र ४ बजेदेखि मतगणना सुरु गरेर साँझ ७ बजेसम्म मतपरिणाम आइसक्ने उनको भनाई छ । निर्वाचनमा ४ जना उम्मेदवार प्रतिष्पर्धामा रहेका छन् । सत्ता गठबन्धन दलबाट ३ जनाको उम्मेदवारी परेको छ भने प्रतिपक्षी दलबाट एकजनाको उम्मेदवारी परेको छ ।
सत्ता गठबन्धनमा सहभागी समेत रहेका जनमत, नागरिक उन्मुक्ति र लोकतान्त्रिक समाजवादी दल बाहेकको समर्थनमा रामसहायप्रसाद यादव, प्रमिला कुमारी यादवको उम्मेदवारी दर्ता छ । यद्यपि प्रमिला कुमारीले विज्ञप्तिमार्फत आफूले उम्मेदवारी फिर्ता लिएको बताउँदै रामसहायलाई भोट मागेकाे छ ।
यस्तै सत्ता गठबन्धनमा रहेको जनमत पार्टीबाट ममता झा उम्मेदवार रहेका छन्। उपराष्ट्रपति निर्वाचनमा झा को पक्षमा नागरिक उन्मुक्ति र लोकतान्त्रिक समाजवादी पार्टीले कार्यगत सहकार्य गर्ने जनाएका छन् ।
यस्तै नेकपा एमालेको तर्फबाट अष्टलक्ष्मी शाक्य चुनावी प्रतिस्पर्धामा रहनु भएको छ । निर्वाचनमा एउटा मतदान केन्द्रमा ७ जनासम्म कर्मचारी खटिनेछन् । सो निर्वाचनमा संघीय संसदका ३३२ र प्रदेशसभा तर्फका ५५० सांसद मतदाताका रुपमा रहेका छन् ।
आयोगको ध्यानाकर्षण
निर्वाचन आयोगले य उपराष्ट्रपति पदको निर्वाचनका लागि प्रचारप्रसार निषेधका अवधिमा राजनीतिक दलको बैठकबाट उम्मेदवारलाई मत दिने वा नदिने निणर्य नगर्न/नगराउन ध्यानाकर्षण गराएको छ ।
उम्मेदवारका सम्बन्धमा कतिपय राजनीतिक दलका बैठक र त्यससँग सम्बन्धित सार्वजनिक अभिव्यक्ति आएका सन्दर्भमा आज आयोगले प्रेस विज्ञप्ति जारी गरी ध्यानाकर्षण गराएको हो ।
आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनकोे ४८ घण्टा अघिदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागु भइरहेको विज्ञप्ति मार्फत स्मरण गराएको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जारी विज्ञप्तिमा यस अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका बैठक, छलफल, अन्तक्र्रिया, सभा गर्न नपाइने उल्लेख छ ।