गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भएका छन्। २०२७ साउन ९ गते बारा बसबरियामा जन्मिएका यादवले स्नातकसम्मको अध्ययन गरेका छन् । यादवकी श्रीमती चम्पादेवी यादव, दुई छोरा र एक छोरी छन् । उनका पिता प्रसाद राय र आमा सहवा देवीको मृत्यु भइसकेको छ ।
विक्रम सम्बत् २०४८ सालमा शिक्षण पेशामा प्रवेश गरेका रामसहायको राजनीतिक यात्रा नेपाल सद्भावना पार्टीबाट भएको हो । उनी २०४६ देखि २०५२ सालसम्म सरस्वती नवयुवक क्लबको अध्यक्ष र जिल्ला शिक्षा समिति बाराको सदस्य भएका थिए।
नेपाल सद्भावना पार्टीको चौथो महाधिवेशन प्रतिनिधिका रुपमा खटिएका यादव २०५७ सालमा गिरफ्तारीमा परे। वि.सं. २०५९ मा मधेसी जनअधिकार फोरम, नेपालमा आवद्ध भएका उनी २०६० साल फागुन ७ गते मधेसी जनअधिकार फोरम, नेपाल बाराको संस्थापक संयोजक बने।
२०६० सालमा मधेसी जनअधिकार फोरम नेपालको केन्द्रीय सदस्य बनेका उनी २०६२/०६३ को जनआन्दोलमा सक्रिय भएर लागे। त्यसक्रममा उनी काठमाडौंबाट गिरफ्तारीमा समेत परेका थिए।
२०६२/०६३ सालको मधेस जनविद्रोहमा बारा, पर्सा, रौतहट र कैलाली जिल्लामा आन्दोलनको नेतृत्वको जिम्मेवारीमा पनि उनले काम गरे।
२०६४ सालको पहिलो संविधानसभाको सदस्य निर्वाचित भए भने, २०७२ साल मधेसी जनअधिकार फोरम नेपाल र संघीय समाजवादी पार्टी नेपाल एकीकरण भई गठन भएको संघीय समाजवादी फोरम नेपालको उनी महासचिव बने।
वि.सं. २०७४ सालमा प्रतिनिधिसभामा बारा क्षेत्र नम्बर २ बाट निर्वाचित यादव २०७८ सालमा वन तथा वातावरण मन्त्री समेत बने। यादव गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभामा बारा क्षेत्र नम्बर २ बाटै निर्वाचित भएका थिए।
राष्ट्रपति संस्था नै विवादित बनिरहेको समयमा उपराष्ट्रपतिको संवैधानिक र व्यवहारिक औचित्य र कार्यत्रक्षेत्रका बारेमा समेत प्रश्न उठ्ने गरेको छ । यस अवस्थामा यादवले आफ्नो पदीय जिम्मेवारी कसरी निर्वाह गर्लान्? यो भने हेर्न बाँकी छ ।