राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारले ल्याएको बेपत्ता छानबिन तथा सत्य निरूपणसम्बन्धि विधेयकको प्रतिवाद गर्ने निणर्य गरेको छ ।
शनिबार बसेको पार्टी संसदीय दलको बैठकले विधेयक द्वन्द्वमा परेका नागरिकको न्यायका लागि नभई उनीहरूलाई उन्मुक्ति दिनेगरि ल्याउन खोजिएकाले दोषीलाई उन्मुक्ति दिने विधेयकको प्रतिवाद गर्ने निणर्य गरेको हो ।
संसदीय दलको प्रमुख सचेतकसमेत रहेका नेता ज्ञानेन्द्र शाहीले सरकारले ल्याउन लागेको विधेयकमा मानव अधिकारको विषयमा कारबाही गर्नुभन्दा उन्मुक्ति दिनु, हत्या गर्नेलाई उन्मुक्ति दिनु, बाँदरमुडेजस्ता ठूला घटनामा मान्छे मार्नेलाई उन्मुक्ति दिने विषय उल्लेख रहेको बताए।
सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक फागुन २५ गते संसद सचिवालयमा दर्ता गरेको छ ।
दलको उपनेतामा तामाङ
पार्टीको संसदीय दलको उपनेतामा उपाध्यक्ष बुद्धिमान तामाङ चयन भएका छन् ।
आज बसेको दलको बैठकले तामाङलाई दलको उपनेता चयन गरेको प्रवक्ता ज्ञानेन्द्र शाहीले बताए । राप्रपा संसदीय दलको नेतामा अध्यक्ष राजेन्द्र लिङ्देन नै रहेका छन् ।
यस्तै राप्रपाले संसदीय दलको विधान पूरा गरेको उनले बताए ।