काठमाडौं। प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितामा नेपालले विजयी सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको पहिलो खेलमा लाओसलाई २-० गोल अन्तरले हराउँदै नेपालले सुखद सुरुआत गरेको हो ।
नेपालको जितमा अनन्त तामाङ र नवयुग श्रेष्ठले एक-एक गोल गरे ।
खेलको ३० औं मिनेटमा अनन्तले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ५६ औं मिनेटमा नवयुगले गोल गर्दै नेपाललाई २-० को जित दिलाए ।
जितसँगै पहिलो खेलमा ३ अंक जोडेको नेपालले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । अब नेपालले चैत १४ गते भुटानसँग खेल्नेछ । त्यसअघि चैत ११ गते भुटान र लाओस भिड्ने छन् ।
सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्ने छन् । प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर पाउँने छ भने दोस्रोले ३ हजार डलर पाउने छ ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर र खेलको म्यान अफ दि म्याचले २५० डलर पाउने छन् ।