सोमवार, श्रावण २५ गते २०८३
शिक्षामा वहश

विदेश जाने विद्यार्थी बढ्दा नेपाली कलेजमा सन्नाटा, विश्वविद्यालयको प्रारूपमै परिवर्तनको खाँचो

शुक्रवार , चैत्र २४, २०७९

काठमाडौं। विदेश पढ्न जाने विद्यार्थीको संख्या बढ्दा नेपाली कलेजमा सन्नटा छाएको छ। साउनयता करिब ८० हजार नेपाली विद्यार्थीले विदेशमा अध्ययन गर्न जान अनुमति पत्र (एनओसी) लिएका छन् ।

वैदेशिक रोजगार शाखाबाट ९ महिनाको यो अवधिमा ७९ हजार ३०९ जनाले एनओसी लिएका हुन् । प्रत्येक वर्ष १ लाख ५० हजारको हाराहारीमा नेपाली विद्यार्थीहरू अध्ययनका लागि विदेश जाने गरेका छन् ।

सरदरमा दैनिक ३०० जना अध्ययनका लागि विदेश जाने गरेको देखिन्छ । बिदेसिने विद्यार्थीको सङ्ख्या प्रत्येक वर्ष बढ्दो क्रममा देखिदा कलेजहरूले विद्यार्थी नपाउने समस्या देखिएको छ । विद्यार्थीको अभावमा विश्वविद्यालयहरूले कतिपय कार्यक्रम बन्द गर्नुपरेको अवस्था छ ।

सञ्चालनमा रहेका कार्यक्रममा पनि विद्यार्थीहरूको आर्कषण देखिएको छैन। यस्तो अवस्थाप्रति कलेज सञ्चालकहरू तथा प्राध्यापकहरूले चिन्ता व्यक्त गरेका छन् । नेपाल पब्लिक क्याम्पस संघको १२ औँ  राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा बोल्ने प्राध्यापकहरू तथा प्रमुखहरूले यसप्रति चिन्ता व्यक्त गरेका हुन् ।

लुम्बिनी वाणिज्य क्याम्पसका प्रमुख प्रा.डा. तारा प्रसाद उपाध्यायले कलेजहरूले विभिन्न समस्याको सामना गर्नु परिरहेको बताए। स्रोत साधनको अभावमा कलेजहरूले विद्यार्थीलाई आकर्षित गराउन नसकिरहेको उनको भनाइ छ ।

‘कतिपय कलेजहरू भाडामा बसिरहेका छन् । कतिपयको आफ्नै भवन पनि छैनन् । भने कति कलेजको अर्बौँको सम्पत्ति छ । शिक्षक कर्मचारीलाई पेन्सन समेत खुवाइरहेका छन् । यस्तो खालको समस्या हाम्रा कलेजहरूमा देखियो,’ उनले भने । 

कतिपय कलेजहरू शिक्षक/कर्मचारीलाई तलब दिन नसक्ने अवस्थामा पुगेको बताए। विद्यार्थीको अभावमा विश्वविद्यालयहरू भूत बंगला हुने अवस्थामा पुग्न लागेको उनको भनाइ छ ।

अब विश्वविद्यालयहरूको प्रारूप नै परिवर्तन गर्नुपर्ने अवस्थामा आएको उनले बताए। ‘विश्वविद्यालयमा अहिलेकै अवस्था हुने हो भने केही वर्षमा विद्यार्थी खोज्नुपर्ने हुनसक्छ । अब विश्वविद्यालयहरूको प्रारूप नै परिवर्तन गर्नुपर्छ,’ उनले भने । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार