सुदूरपश्चिम विश्वविद्यालयले थप पाँचवटा क्याम्पसलाई आङ्गिक क्याम्पस बनाउने निणर्य गरेको छ ।
विश्वविद्यालयका रजिष्ट्रार यज्ञराज पाठकले कञ्चनपुरको झलारीस्थित कृष्ण बैजनाथ बहुमुखी क्याम्पस, बैतडीको पुर्चौंडी बहुमुखी क्याम्पस, डडेल्धुराको भीमदत्त बुहुमखी क्याम्पस, बझाङको दीप बहुमुखी क्याम्पस र बझाङकै सुनकुडा बहुमुखी क्याम्पसलाई आङ्गिक बनाउने निणर्य भएको जानकारी दिए। यसअघि उक्त विश्वविद्यालयमा १५ सामुदायिक क्याम्पसलाई आङ्गिक क्याम्पस बनाइएको थियो ।
हाल विश्वविद्यालयले आठवटा सङ्कायमा अध्यापन गराउँदै आएको छ । सरकारले डडेलधुरा अस्पताललाई पनि सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक सङ्कायका रुपमा सञ्चालन गर्ने निणर्य गरिसकेको छ ।
विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले आउँदो शैक्षिकसत्रदेखि वन विज्ञान र हर्वल साइन्सको कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बताए।
हाल विश्वविद्यालयले मानविकी तथा सामाजिकशास्त्र, व्यवस्थापन, शिक्षाशास्त्र, विज्ञान तथा प्रविधि, इन्जिनियरिङ, कृषि विज्ञान, कानुन र स्वास्थ्य विज्ञान गरी आठवटा सङ्काय सञ्चालन गरिरहेको छ ।