काठमाडौं। विश्वका आर्थिकरूपमा सम्पन्न सात प्रमुख राष्ट्रहरूको समूह (जी-सेभेन) का नेताहरूले एशिया-प्रशान्त क्षेत्रमा चीनले गरिरहेको ‘सैन्य गतिविधि’लाई लिएर चासो व्यक्त गरेका छन् ।
हिजोबदेखी जापानको हिरोसिमामा सुरु भएको शिखर सम्मेलनमा जारी वक्तव्यमा उनीहरूले चीनको आर्थिक र सैन्य गतिविधिबारे चिन्ता व्यक्त गर्दै चीनको यस सन्दर्भमा ‘स्थिर र रचनात्मक’ सम्बन्ध रहनुपर्ने बताएका छन् ।
उनीहरूले सहकार्यका लागि ढोका खुला राख्न र विश्वको दोस्रो ठूलो अर्थतन्त्र, प्रमुख पश्चिमी शक्तिहरू र जापानबीचको तनावलाई थप भड्काउनबाट जोगाउन पनि खोजेको बताएका छन् ।
यस्तै, विज्ञप्तिमा कुनै पनि नीतिगत दृष्टिकोण चीनलाई हानि पुर्याउने उद्देश्यले डिजाइन नगरिएको र चीनको आर्थिक प्रगति र विकासलाई अवरुद्ध गर्न नचााहेको उल्लेख छ ।
सम्मेलनमा समूहले आर्थिक लचिलोपनका लागि जोखिम कम गर्न र विविधीकरण गरिरहेको र महत्वपूणर् आपूर्ति शृङ्खलामा अत्यधिक निर्भरता कम गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । यस्तै, जी-सेभेन राष्ट्रहरुले दक्षिण चीन सागरमा चीनको ‘सैन्यीकरण’विरुद्ध चेतावनी दिँदै ताइवान टापू क्षेत्रमा ‘शान्ति र स्थिरता’ विश्व सुरक्षाका लागि ‘अपरिहार्य’ रहेको उल्लेख गरेको छ ।
यस्तै, चीनलाई रूससँगको आफ्नो प्रभाव प्रयोग गरी आफ्नो सैन्य आक्रामकता रोक्न र युक्रेनबाट तत्काल, पूणर् र बिनाशर्त आफ्ना सेना फिर्ता लिन आग्रह समेत गरेको छ ।