काठमाडौं। बेलायतको वार्षिक मुद्रास्फीति दर अप्रिलमा आठ महिना यताकै सबैभन्दा न्युन विन्दुमा पुगेको छ । आज सार्वजनिक सरकारी तथ्याङ्क अनुसार अप्रिलमा मुद्रास्फीति दर ८.७ प्रतिशतमा झर्नुका साथै ऊर्जाको मूल्य एक वर्ष पहिलेको तुलनामा निकै कमजोर भएको पाइएको छ ।
यस्तै, मूल्य वृद्धिको दर मार्चमा १०.१ प्रतिशतबाट घटेर गत वर्षको अगष्टपछि पहिलो पटक मुद्रास्फीति १० प्रतिशतभन्दा तल झरेको राष्ट्रिय तथ्याङ्क कार्यालय (ओ.एन.एस)ले जनाएको छ ।तीव्र गिरावटको बावजुद, अप्रिलको दर बैंक अफ इंग्ल्याण्ड (बीओई) को गत महिनाको मुद्रास्फीतिको पूर्वानुमान ८.४ प्रतिशतभन्दा माथि रहेको छ ।
अप्रिलमा बेलायतको वार्षिक मुद्रास्फीति दर क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान र संयुक्त राज्य अमेरिकासहित जी-सेभेन समूहका सम्पन्न अर्थव्यवस्था भएका देशहरूमध्ये सबैभन्दा बढी पुगेको थियो ।
बेलायत सरकारले यो वर्षको अन्त्यसम्ममा मुद्रास्फीति लगभग ५.० प्रतिशतमा झर्ने दावी गरेको छ ।अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले भने सन् २०२३ मा बेलायतको अर्थतन्त्र ०.४ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ ।