काठमाडौं । नायिका शिल्पा सेट्टीले आफ्ना पति राजले पोर्न नभई इराटिक फिल्म बनाउने गरेको बयान दिएकी छन् । क्राइम ब्रान्चसंग बयान दिँदै उनले राज निर्दोष रहेको बयान दिएकी हुन् । मुम्बई पुलिसको क्राइम ब्रान्चले शुक्रबार ६ घन्टा शिल्पा र उनका पति राज कुन्द्रालाई एकसाथ राखेर बयान लिएको थियो ।
शिल्पासँग सोधपुछ गर्नका लागि क्राइम ब्रान्चको टिम उनको घर पुगेको थियो । प्रहरीले राजलाई पनि सँगै लिएर गएको भारतीय मिडियाले उल्लेख गरेका छन् । प्रहरीसँग बयान दिने क्रममा शिल्पाले यो बिषयमा आफूलाई अलग राखेकी छिन् । उनले, पोर्न चलचित्र बनाउने कुरामा आफ्नो कुनै भूमिका नरहेको पनि स्पष्ट पारेकी छिन् ।
भारतीय मिडियाका अनुसार, शिल्पाले प्रहरीसँगको बयानमा उनका श्रीमान् राज कुन्द्राले हटसट्स नामक एपमा पोर्न नभएर इराटिक चलचित्र बनाउने गरेको दाबी गरेकी छिन् । शिल्पाले हटसट्समा उपलब्ध भएका भन्दै कैयौं अश्लिल बिषयवस्तु समावेश भएका चलचित्र ओटीटी प्लेटफर्ममा उपलब्ध भएको बयान दिएकी छिन् ।
शिल्पाले यो बिषयमा राजका आफन्त प्रदिप बख्शीलाई दोषी ठहर्याएकी छिन् । शिल्पाले लण्डनमा बसोबास गर्ने प्रदिपले यो एप चलाइरहेको बताउँदै आफ्ना पति निर्दोष रहेको दाबी गरेकी थिइन् । शिल्पाले आफूलाई हटसट्समा चलचित्रहरु सार्वजनिक गर्ने गरेको बिषयमा कुनै पनि जानकारी नभएको पनि बयान दिएकी छिन् ।
शिल्पाले केही दिन अगाडि मात्र राज कुन्द्राको कम्पनी ‘वियान इन्डस्ट्रिज’बाट राजिनामा दिएकी थिइन् । यसैले, प्रहरीले शिल्पा यो घटनामा सहभागी छिन् या छैनन् भन्ने बिषयमा अनुसन्धान गरिरहेको छ ।