बुधवार, आश्विन १४ गते २०८३

साउदीमा दिउँसोको समयमा श्रमिकलाई खुल्ला ठाउँमा काममा लगाउन प्रतिबन्ध

बिहिवार , जेठ ३२, २०८०

काठमाडौं। साउदीमा दिउँसोको समयमा श्रमिकलाई खुल्ला ठाउँमा काममा लगाउन प्रतिबन्ध लगाइएको छ । साउदीको मानव संसाधन र सामाजिक विकास मन्त्रालय (एम.एच.आर.एस.डी)ले आफ्ना श्रमिकहरुलाई सूर्यको प्रत्यक्ष प्रकाशमुनि काममा नलगाउन सबै निजी कम्पनी तथा प्रतिष्ठानहरुलाई निर्देशन दिएको छ ।

बिहीबारदेखि आगामी सेप्टेम्बर १५ सम्म तीन महिनाको लागि यस्तो प्रतिबन्ध लगाइएको मन्त्रालयले जनाएको छ । राष्ट्रिय व्यावसायिक सुरक्षा तथा स्वास्थ्य परिषदसँगको सहकार्यमा मन्त्रालयले सो अवधिमा दिउँसो १२ देखि ३ बजेसम्म तीन घण्टा श्रमिकहरुलाई खुल्ला ठाउँको काममा लगाउन प्रतिबन्ध लगाएको हो ।

खाडी देश साउदीमा यी तीन महिनाको अवधिमा ५० डीग्री सेन्टिग्रेडसम्म तापक्रम पुग्ने हुँदा अत्याधिक गर्मीका कारण श्रमिकहरुमा स्वास्थ्य समस्या देखिने गर्दछ । जस कारण साउदी सरकारले त्यहाँका निजी क्षेत्रमा कार्यरत श्रमिकको स्वास्थ्य सुरक्षाको लागि सो अवधिमा दिउँसोको समयमा काममा लगाउन प्रतिबन्ध लगाएको जनाएको छ ।

मन्त्रालयले आफ्नो वेबसाइटमा सूचना नै जारी गरेर दिउँसोको समयमा आफ्ना श्रमिकलाई काममा नलगाउन सबै निजी कम्पनीहरुलाई आग्रह गरेको छ । कसैले नियमको उल्लंघन गरेर काममा लगाए फोन गरेर सूचना दिन पनि आग्रह गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार