काठमाडौं । बैतडीमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । आइतबार बिहान भएको दुर्घटनामा परेर गम्भीर घाइते भएका सिगास गाउँपालिका–३ का ४५ वर्षीय जयसिंह धामीको मृत्यु भएपछि मृत्यु हुनेको संख्या तीन पुगेको हो ।
उपचारका लागि लैजाने क्रममा धामीको मृत्यु भएको प्रहरीले जनाएको छ । आइतबार बिहान सिगास गाउँपालिका–३ बाट डडेल्धुरातर्फ जादै गरेको से १ ज ७३९ नम्बरको जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ११ जना घाइते भएका थिए ।
घाइतेहरुमध्ये अझै थप ३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । उनीहरुलाई उपचारका लागि डडेल्धुरास्थित अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण अझै खुल्न सकेको छैन । चालक र गाडी मालिक भने फरार भएका छन् ।