काठमाडौं। भारतको मणिपुरमा दुई जना महिलालाई निर्वस्त्र बनाएर सडकमा हिँडाएको घटनाको चौतर्फी आलोचना भएको छ । केही महिनादेखि जातीय हिंसा भइरहेको मणिपुरमा दुई जना महिलालाई निर्वस्त्र बनाएर सडकमा डुलाएको तथा यौन दुर्व्यवहार गरेको भिडियो हिजो सार्वजनिक भएको हो ।
सो घटनालाई लिएर धेरैले सरकारको चर्को आलोचना गरेका छन् । सो भिडियो सार्वजनिक भएसँगै भारतमा महिला सुरक्षाको अवस्थामा समेत गम्भीर प्रश्न खडा भएको छ ।
महिलामाथि यौन दुर्व्यवहारको भिडियोको पुष्टि गर्दै मणिपुर प्रहरीले यी महिलाहरू मे ४ तारिखमा मणिपुरको थौबल जिल्लामा यौन दुर्व्यवहारको शिकार भएको बताएको छ ।
प्रहरीका अनुसार घटनामा नचिनेका व्यक्तिविरुद्ध अपहरण, सामूहिक बलात्कार र हत्याको मुद्दा दर्ता गरिएको छ । मणिपुरका मुख्यमन्त्री एन बीरेन सिंहले दोषीलाई कडा कारबाही हुने बताउँदै यस घटनामा संलग्न एक जनालाई पक्राउ गरिएको दाबी गरेका छन्। सर्वोच्च अदालतले पनि यस विषयमा सरकारको जवाफ मागेको छ ।
पहिलो पटक बोले प्रधानमन्त्री
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दोषीलाई उन्मुक्ति नदिने बताएका छन्। मोदीले घटनाबारे बताउँदै आफ्नो मन पीडाले भरिएको र देशकै अपमान भइरहेकोले दोषीलाई उन्मुक्ति नदिने बताएका हुन्।
विपक्षीहरूले लामो समयदेखि प्रधानमन्त्री मोदीले मणिपुरमा नबोलेकोमा प्रश्न उठाउँदै आएकामा हिंसाबारे प्रधानमन्त्री मोदीले पहिलो पटक बोलेका हुन्।
मैतेई समुदायले अनुसूचित जातिमा सूचीकृत गरिनुपर्ने माग अघि सारेपछि मणिपुरमा मे ३ देखि जातीय हिंसा जारी छ । हिंसाका क्रममा १ सय ४० भन्दा धेरैको मृत्यु भइसकेको छ भने हजारौं नागरिक विस्थापित भएका छन् ।